सृजनको, जीवनको सत्य जानेर, अनमोल दिव्य आत्माको प्रकाश जो हाम्रो आफ्नो अपनत्व हो मा चुप बस्न, हुन नसकिएको कारण के हो ? यो खोज आफैले नगरे अरू कसले गर्दिन्छ ?
भाग्यले दिने पदार्थ हुन् सम्पत्ति, मान, प्रपञ्च अनि पतन भाग्यले कुनै कालमा– ध्यान, ज्ञान, शान्ति र स्थिति दिंदैन भाग्यशाली वा नभाग्यशाली दुवैले त्याग गर्न सक्नुपर्छ, यस त्यागबाट सन्तोष, सत्सङ्ग एवं एकान्त जीवनको अवसर सुलभ हुन्छ ।
भाग्यशालीले भोग भोग्ने र भोगका साधन बचाउने आसक्तिको त्याग गर्नुपर्छ, यसैलाई निष्काम वा अनासक्त जीवन भनिन्छ भाग्य नभएकाले– कामना–ईष्र्या र व्यर्थ कर्मको त्याग गरी निरभिमान–सन्तोषी भई सेवाको भाव अपनाउनुपर्छ ।
राजा महाराजा, साहुकार, महन्तहरू बचाउनमा मर्छन् । साधारण मजदूर किसान, नारीपुरुष ‘यति पाऊँ उति पाऊँ’को आशामा मर्छन् । अमरता पाउने र बचाउने कामनाबाट मुक्त जीवनमा आउँछ ।
भाग्य, संयोग कर्मयोग यी सबैको सूक्ष्म सम्बन्ध छ, केवल बुद्धियोगका प्रकाशमा यसको रहस्य जान्न सकिन्छ– पुस्तक पढेर, कुरा सुनेर, तपस्या गरेर केही सङ्केत पाइएला–परन्तु सही ज्ञान, निरिच्छित भएर, एकान्त शान्त हृदयमा प्रकट हुन्छ ।
छिट्टो जान्न पाए हुन्थ्यो भन्ने इच्छाले धैर्यको बाटो बन्द गर्दिन्छ, जहाँ धैर्यको प्रकाश छैन त्यहाँ त्याग– जो वास्तविक कर्म हो, त्यो हुँदैन सही कर्म नभएसम्म सन्तोषको समझ अथवा समझको सन्तोष आउँदैन । यो समझ र सन्तोषले जीवनलाई परमहंस, परमानन्द, परम सत्यका सामुमा उभ्याइदिन्छ— मनुष्यको पूर्णता यहाँ छ ।
हृदयमा प्रेम भक्ति पक्का न आउन्ज्याल समर्पण हुँदैन, समर्पण नभैकन द्वन्द्व छुट छैन, यथार्थ सम्बन्ध गुरु शिष्य दुर्लभ हुन्छ । जन्मको सम्बन्ध माता पिता कामनाको सम्बन्ध पतिपत्नी, आशाको सम्बन्ध पुत्रपुत्री भावनाको सम्बन्ध– बन्धु, मित्र आदि जीवनको सम्बन्ध व्यवहार हुन् । सबै सम्बन्धमा प्रकाश, प्रकाश्यको सम्बन्ध गुरु शिष्यमा मात्रै सम्पूर्ण विकासको प्राप्त हुन्छ । सबै सम्बन्ध स्थूल आवश्यकता काल्पनिक आवश्यकताबाट हुर्केका हुन्छन् ।
केवल ज्ञानको प्रकाशको सम्बन्ध–जीवको जीवका साथको साँचो सम्बन्ध हो— जागृत जीव गुरु, जिज्ञासु जीव शिष्य दुवैको मेल । प्रेम, भोक, निद्राजस्तो अनुभव छर्न के हो ? भनेर बताउन नसकिने हुन्छ । स्वार्थविना, जीवनको यात्रा गर्नुपर्छ सत्य–जाग, जाग, जाग ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













