अनित्यमा आसक्ति हुँदा शोक, वियोग र मिथ्या कल्पनाको जन्म हुन्छ । मिथ्या भावना गर्नाले, दृश्य, काल्पनिक स्वप्नको, जस्तो चिन्तन ग¥यो त्यस्तै प्रकाश हुन्छ परन्तु यो चिन्तन गर्ने चित्त स्वयं मिथ्या हो, देश काल परिस्थिति अनुसार यो चित्तले आफ्ना चाहना र बोध (जो अज्ञानकै अन्तर्गत छन्) प्रकट गर्दछ ।
साँच्चै नै स्वतन्त्रताको खोज छ भने, स्मृति, इच्छा, आग्रह हठवाद, सङ्ग्रह महत्वाकाङ्क्षा, व्यर्थ पढ्नु, सुन्नु देख्नुबाट उत्पन्न भ्रमको अनन्त भ्रम–यिनीहरूको त्याग हुनैपर्छ । त्याग हुनका लागि तिनीहरूले के दिन सक्छन् ? के लिन्छन् ? तथा तिनीहरूको सीमा देखेर–हाम्फालेर आर्को किनारामा उभिन सक्नुप¥यो, तसर्थ अज्ञानको व्यापारबाट स्वतःलाई मुक्त गरी एकान्तमा शान्त रही प्राण र स्मृतिको एकतानता बनाई क्रीडा गर्नु सृजनमा समरसता राख्नु बोध हो, प्रज्ञा हो । यही वास्तविक स्वतन्त्रता हो ।
परम शान्तिका सूत्र हुन् स्वभाव अनुसार सबैले व्यवहार गर्नु, सङ्केत गर्नु, अपेक्षा नगर्नु, वादविवाद नगर्नु, कसैको अपमान नगर्नु, जिज्ञासा नगरी नबताउनु (जो श्रद्धालु छैन, शिष्य छैन, पुत्र छैन, त्यसलाई नबताउनु) सोधे पनि मनस्थिति सम्झेर, उपनिषद्का ऋषिहरूले झैं श्रद्धा, त्याग, तपस्या र निष्ठाको अनुपातमा शिक्षा दिनु ।
सम्पत्ति, शिक्षा र अशिक्षा यी तीन पनि सांसारिक तत्व हुन् । जसमा सङ्ग्रहको लोभ, शिक्षा दिने र मौन बस्ने इच्छा हुन्छ । त्यस अगमलाई पारखीलाई, साक्षीलाई, अद्वैतलाई परम शून्यलाई समरसतामा देख्नु, जान्नु मुक्त हुनु जीवन हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













