सोम कुमार सुब्बा
तिमीलाई किन बगरे कान्छा भनेको ?— रोजाले मुस्कुराउँदै सोधिन् ।
सायद मेरो डेरा बगरमा भएर होला !— कान्छाले बोरामा बालुवा भर्दै भन्यो ।
अब शहरतिर पस्नु, कतै शहरे कान्छा भन्छ कि ?— रोजा जिस्किन् ।
यो बगर मेरो जन्मभूमि हो, कर्मभूमी हो ! यही बगरको ढुङ्गा बालुवाले मेरो पालनपोषण ग¥यो, पढायो, बढायो, हुर्कायो, त्यसैले म कुनै हालले पनि यो बगर छोडन सक्दिनँ । —कान्छा भावुकतामा बग्यो ।
त्यसो भए, एकापटी तिम्रो बगर, अर्कोपटी म मगरकी छोरी ! कसलाई धेरै माया गर्छौ ?
कान्छा अल्मल्ल परेर ट्वाल्ल उनको अनुहार हेरिबसे ।
रोजाले उनको गाला चिमोट्दै भनिन्— “किन अकमक्क परेको ? भोलि राम्ररी सोचेर भन्नु, पक्का नी ! भन्दै ऊ उकालो कुदिन् ।
वर्षोंदेखि भन्न नसकेको मायाको कुरो, सहजै रोजाले राख्दा कान्छा पनि खुशीले प्रफुल्लित भए ।
या… हु ! भन्दै कान्छ पनि डेरातर्फ कुदे ।
भोलिपल्ट बिहानै प्रश्नको उत्तर सुन्न आतुर रोजा बगरतर्फ कुदिन् । टिस्टाको भेलले बगर छोपेको थियो ।
साभारः लघुकथा कुनोबाट













