काठमाडौं – नेपाली कांग्रेसले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेहबहादुर देउवाले पार्टीको विधान अनुसार ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।
केन्द्रीय सदस्य मनोनीत हुनेहरूमा गुल्मीका चन्द्र भण्डारी,अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईँ, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन्।
कांग्रेस केन्द्रीय समिति बैठकअघि देउवाले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । केन्द्रीय सदस्यमा मनोनीत भएका भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए।
कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पार्टी कार्यालय सानेपामा बस्दैछ। शिक्षक आन्दोलन र सभापति देउवाको व्यस्तताको कारण कांग्रेसको बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरि सुरु हुने भएको छ।













