मिथ्या भनेको एक अवस्थामा छ, अर्को अवस्थामा छैन । त्यो भनेको लौकिक हो र लौकिक व्यवहार हो । मनुष्यको इच्छा र आवश्यकताबाट जन्मेको, हुर्केको कर्म व्यवहार हो । जस्तै : सूक्ष्म इच्छाको व्यवहार शास्त्र आदि । स्थूल कर्मको व्यवहार घर परिवार आदि ।
अव्यवहार–परमार्थ हो, त्यो हृदयमा छ, जब सबै बाहिरको जानेर, फर्किनु अन्तर्मुखता हो, त्यहाँ हृदय छ । जो अल्झिएको छ, त्यो आवागमनबाट मुक्त हुने ‘प्रकाश’मा पुग्न सक्दैन ।
अहिंसा परमोधर्मः परोपकार पुण्यायको अर्थ बुझेर सबै अविद्या विद्या (अपरा– यहीका विधिविधानहरू) वेद, संहिता, आरण्यक शतपथ, षड्दर्शन, (व्याकरण, ज्योतिष, शिक्षा, कल्प, निरुक्त, मीमांसा आदि) को सीमा सम्झेर परा–हृदय परा–चिन्मयदिव्य, परा–सहज सरल, अवलोकन परा–अकिञ्चन निद्र्वन्द्व बोधस्थितिमा प्रवेश गर्नु मिथ्याबाट मुक्त हुनु हो । हाम्रो इच्छा, स्वार्थ–लोभ र अज्ञान बाहेक कहीँ समस्या छैन । बाहिरको समस्या सबै अज्ञानले बनाएको हो ।
मिथ्या लौकिक हो, लौकिक व्यवहार हो । व्यवहार– इच्छाको आवश्यकताबाट आएको हो । अनावश्यक आवश्यकता हटाउन सके, नैसर्गिक आवश्यकतामा रहनु ज्ञानको जीवन हो । यस ज्ञानको जीवनमा जीवन्मुक्तता छ ।
सुख दुःख आफ्नै, स्वर्ग नर्क आफ्नै, जीवनको झ्यालबाट जागी हेर जस्तोसँग प्रचार त्यस्तै हुन्छन् विचार, सम्झ मौन बसेर । कसैलाई कसैको केही भाव छैन, स्वार्थका सबै हुन् पातपतिङ्गर ।
कर्म र भावको मेल कठिन छ । सबैको, संस्कार, रुचि आवश्यकताले कर्म हुन्छ । कर्म एउटै भए पनि ‘भाव’मा भेद हुन्छ । देख्दा नराम्रो कर्ममा, राम्रो भाव छ भने स्वतन्त्रता छ । देख्दा राम्रो कर्ममा नराम्रो भाव छ भने बन्धन छ । देवपूजा, साधुको भेष, शास्त्रकथाको लक्ष्य धन हो भने पतनको ओरालो लागियो ।
मजदुरी, व्याधकर्म, बढारनु माज्नुमा सर्वत्र ईश्वरलाई सम्झेर सेवाभाव आयो भने उत्थानको उकालो सहजै चढियो । सम्बन्धले, धनले, व्यवहारले त्यति बन्धन गर्न सक्तैन जति रागले, लोभले स्वार्थले गर्दछ । व्यवहार, सम्बन्ध सम्पत्तिको असङ्ग्रह बाहिरको स्वतन्त्रता हो । राग, लोभ स्वार्थलाई टाढा राख्नु भित्रको स्वतन्त्रता हो । जो बाहिरबाट स्वतन्त्र छ भित्र परतन्त्र छ त्यो दम्भी हो । जो बाहिरभित्र दुवैमा स्वतन्त्र छ त्यो जीवन मुक्त होे । आपूmलाई हृदयमा राख्नु बाहिर नबाँड्नु नबाँडिनु भजन हो । इच्छा, स्वार्थमा जीवनको नटुक््रयाउनु कीर्तन हो । हृदयमा आपूmलाई भेट्ने यात्रा गर्नु याग हो ।
तत्वमा– याग– विलय गर्नु– समागम हुनु– त्याग हो । संसारमा सुख खोज्ने काँचो हो (अभक्त हो) । हृदयमा आत्मा–ईश्वर प्रसन्नता–सुख खोज्ने पाको हो (भक्त हो) ।
ज्ञा–अहङ्कार न–जसमा छैन, त्यो ज्ञान हो । ज्ञान–को अवस्थामा प्रतिष्ठितलाई ज्ञानी शब्द दिएको हो ।
भ्रमको, मिथ्याको, अविद्याको पनि सही पालन गर्न सके यो भ्रम हो भन्ने ज्ञान आउँथ्यो । यहाँ शब्द मात्रै छ पालन छैन । त्यसकारणले प्रपञ्च, पतन र आवागमनको विकास भइरहन्छ । यसैलाई ध्यानमा राखेर सत्यले समग्र पालन या समग्र त्याग भनेको हो । बीचमा अलमलिनाले अमूल्य जीवन अकारण वर्वाद हुन्छ । उत्साहपूर्वक उद्योग गर्ने, आशामा नभड्किए सन्तोष र वैराग्य आउने थियो । जे गरे पनि सार वस्तु सन्तोष र वैराग्य हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













