श्वासमा स्मृतिराख भनेको, सार सन्दर्भ हो । सबै आरोपित एवं काल्पनिक कुराहरूबाट मन हटाएर जीवनको स्रोततिर फर्क भनेको हो ।
ठाउँको महत्व राखियो भने वातावरण बदलिएपछि त्यो ठाउँ व्यर्थ हुन जान्छ । व्यक्तिको महत्व राखियो भने, अश्वस्थता, मानसिकता एवं मृत्युका कारणले भएको वियोगले दुःख दिन्छ ।
आफ्नो मनलाई सर्वप्रथम शरीर, मान्यता, अमुक स्थान, अमुक व्यक्ति अमुक प्रकारको धर्म, शास्त्र, ईश्वर उपासना, सिद्धान्तबाट स्वतन्त्र गर तब मात्रै तिमी चयनरहित सचित्त सजग अवलोकनमा हुन्छौँ ।
कसैसित केही अपेक्षा नगर्नु आफैमा फर्किनु हो । कुनै प्रकारको अनावश्यक इच्छा नगर्नु एकान्तमा शान्त रहनु हो । आफैमा फर्किनु भनेको अनासक्त एवं स्वतन्त्र प्रज्ञामा हुनु हो । एकान्त भनेको इच्छा प्रवृत्ति र तृष्णाबाट स्वतन्त्र भई प्रसन्न रहनु हो । त्यागको स्वतन्त्रताले प्रसन्नता दिन्छ । यस प्रसन्नताले शान्ति दिन्छ । यस शान्तिमा एकान्त पदको प्रतिष्ठा छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













