काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार र दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।
यस प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईको भूमिकामाथि छानबिनको बाटो खुलेको छ ।
आइतबार सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न निर्देशनात्मक आदेश जारी गरेको छ ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा। कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो ।
२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् ।
अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।













