हिन्दू धर्मअनुसार मानिसको मृत्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । पाठ पूजा गर्ने भनेको आत्माको मात्र हो, शरीरको होइन । त्यसैले त प्राण निस्किएपछि शरीरलाई जलाइन्छ ।
केही मानिसहरूले जानेर वा नजानेर देवताका साथसाथै आफ्ना पूर्वजहरूको तस्वीर पनि पूजाकोठामा राख्ने गरेको पाइन्छ । वास्तुशास्त्रका अनुसार पूजाकोठामा पितृहरूको तस्वीर झुण्ड्याउनु हुँदैन । यसो गर्दा परिवारमा अशान्ति र दुर्भाग्य छाउँछ ।
वास्तुशास्त्र अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्नुपर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै हुनुपर्छ । मृत पूर्वजहरूको तस्वीर चाहिँ दक्षिण पश्चिमतिर राख्नुपर्छ । यसरी वास्तुक्रममा तस्वीरहरू नराख्दा घरमा अशान्ति बढ्छ अनि आर्थिक सङ्कटको स्थिति आइलाग्छ ।
भगवान् सँगै राखेर मृत व्यक्तिलाई पूजा गर्दा भगवानकै निन्दा गरेको समान हो किनकि भगवानको त जन्म र मृत्यु हुँदैन, पृथ्वीमा अवतार र पुनर्गमन मात्र हुन्छ । त्यसैले मृत पूर्वजहरूको तस्वीर अर्कै कोठामा राख्नु उपयुक्त हुन्छ ।
साभार : ‘वास्तुशास्त्र’ पुस्तकबाट













