वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने भन्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ भने वास्तु पालन नगर्दा स्वास्थ्य र धन हानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ ।
प्रायः गरेरे धेरैको घरमा बिग्रेका, टुटेफुटेका सामान घरको कुनामा राख्ने बानी हुन्छ । पछि फ्याँकौंला नि भनेर कुनामा यसरी फुटेका चीज राख्दा घरमा दरिद्रता आउँछ भनी वास्तुले बताएको छ । यस्ता चीज घरमा विराजमान महालक्ष्मी देवीलाई मनपर्दैन । यसबाट वास्तुदोष उत्पन्न भएर नकारात्मक प्रभाव पर्छ । टुटेफुटेका वस्तु आखिरीमा एकदिन त फाल्नुपर्छ नै । यस्ता बस्तु घरमा साँचेर राख्दा बेकारमा वास्तु बिग्रन्छ । त्यसैले भाँचिएका र टुफेटेका सामान घरबाट हटाइहाल्नुपर्छ ।
– फुटेका गिलास र प्लेटले काम चलाइरहनुभएको छ भने यसले वास्तुदोष निम्त्याउँछ । यस्ता चीजले घरमा नराम्रो प्रभाव पर्छ । घरकी महालक्ष्मी रिसाउने कारण बन्छ यो ।
– वास्तुशास्त्र अनुसार भाँचिएको खाट घरमा राख्दा वैवाहिक जीवनमा कलह आई घरमा सुख र शान्ति हराउँछ ।
– बन्द भएको घडीले रोकिएको प्रगतिलाई जनाउँछ । घरमा ठूलठूला घडी राख्दा प्रगति हुन्छ अनि घडी बन्द हुनेबित्तिकै ब्याट्री फेर्ने र पूरै बिग्रिएको छ भने फ्याँकिहाल्नुपर्छ । रोकिएको घडीले घरमा कुशलमंगललाई पनि रोकिदिन्छ ।
– वास्तुका अनुसार फुटेको ऐना वा शीशा घरमा राख्दा लगातार नकारात्मक ऊर्जा उत्पन्न हुने हुनाले यसले परिवारका सदस्यहरूका बीच मानसिक तनाव उत्पन्न हुन्छ ।
– घरको ढोका भाँचियो वा टुटफुट भएको छ भने तुरुन्तै मर्मत गरिहाल्नुपर्छ । भाँचिएको ढोका अत्यन्तै अशुभ हुन्छ र यसबाट संसारका सबै नकारात्मक शक्ति घरमा पस्छन् ।
– घरको फर्निचर राम्रो हालतमा हुनुपर्छ । फुटेको फर्निचर राख्दा वास्तुदोष लाग्छ । यसबाट घरमा आर्थिक समस्या उत्पन्न हुन्छ ।
– फुटेको तस्वीर पनि घरमा राख्नु हुँदैन । यसले वास्तुदोष उत्पन्न गर्छ र यो घरका सदस्यको दुर्भाग्यको कारण बन्न पुग्छ ।













