धुलो, धुँवा र प्रदूषित वातावरणको कारण गर्मीयाममा स्वास्थ्यमा नकरात्मक असर पर्ने गर्छ । गर्मीमा खासगरी छालासँग सम्बन्धित समस्याहरु, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्याहरु बढ्ने गर्छन् । कहिलेकाहीँ सामान्य जस्तो लागेर बेवास्ता गर्दा यस्ता समस्याले ज्यानै खतरामा पु-याउन पनि सक्छ । यी समस्याबाट बच्न निम्न सावधानी अपनाउनु जरुरी देखिन्छ ।
१. कोल्ड ड्रिक्सलाई सकेसम्म त्याग्नुस् । यसले शरीरमा झनै डिहाइड्रेसन गराउँछ । उमालेर सेलाएको शुद्ध पानी प्रशस्त पिउनुहोस् । घरमा, काममा वा अफिसमा पानी पिउन कन्जुस्याइ नगर्नुहोस् ।
२. खानेकुराको सवालमा कुरा गर्दा खाना स्वास्थ्यकर, सफा र यसको भण्डारण पनि स्वस्थकर ढङ्गबाट भएको हुनुपर्छ । जंक फुड प्रायः सबै मौसममा हानिकारक नै हुन्छ । झन् गर्मीमा जंक फुड त टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता मौसमी सरुवा रोगको प्रमुख कारण नै हो । यस्ता खानाको प्रयोगले तिनीहरु झनै पीडित हुन्छन् ।
३. उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस् । बाहिर हिँडडुल गर्दा चिकित्सकको सल्लाहमा मात्र एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस्, त्यस्तै सन ग्लास प्रयोग गर्नुस् ।
४. सिजनेवल सागसब्जी, प्रशस्त फलफूल र झोलिलो खानेकुरा खानेकुरा खानुहोस् । धुमपान र मद्यपानको सेवनले ज्यानमा झनै गर्मी बढाउँछ ।
५. गर्मी मौसममा घर वरिपरि सफा गर्न आवश्यक छ । लामखुट्टे र सर्पको टोकाइबाट बच्न वातावरण सफाइ गर्नुपर्छ । डेंगु गराउने लामखुट्टेले दिउँसो टोक्ने हुनाले लामखुट्टेको टोकाइबाट सधैं बच्नुपर्छ । साथै घरभित्र पानी जम्न दिनु हुँदैन ।
स्रोतः खाने कसरी पिउने कसरी पुस्तकबाट













