काठमाडौं । एक सातामै दुई सेलिब्रिटीलाई गुमाएपछि नेपाली चलचित्र क्षेत्र स्तब्ध बनेको छ । चार दिनअघि नेपालका रकस्टार गायक तथा कलाकार रोविन तामाङ घरमै मृत अवस्थामा भेटिए । दिनभरि घरमै रहेका उनलाई साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि परिवारले हेर्दा मृत फेला पारेका थिए । चिकित्सकले उनको स्ट्रोकका कारण निधन भएको हुन सक्ने अनुमान गरेका छन् ।
नेपालमा रक गायनलाई भित्र्याउने श्रेय रोविनलाई नै जान्छ । पछिल्लो समय उनी नेपाली चलचित्रका चर्चित अभिनेतामा दरिएका थिए । सिंगापुरमा जन्मेका रोविन १६ वर्ष क्यानाडा बसेर नेपाल फर्केका थिए । नेपाल आएपछि उनी कहिल्यै विदेश गएनन् । यहीँ उनले प्राण त्याग गरे । सुतेकै अवस्थामा उनको निधन हुनुले रोविन पहिल्यैदेखि अस्वस्थ रहेको देखिन्छ । यदि समयसमयमा उनको स्वास्थ्य स्थिति परीक्षण गरेको भए अवस्था अर्कै हुने कलाकारहरू बताउँछन् ।
रोविन तामाङको शोक नसकिँदै बिहीबार अभिनेता सारुक ताम्राकारले आत्महत्या गरे । ३१ वर्षमै जीवनलाई टुंग्याएपछि मनोरञ्जन क्षेत्रमा मानसिक स्वास्थ्यको बहस सुरु भएको छ । सेलिब्रिटीले सामाजिक सञ्जालमार्फत मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरिरहेका छन् । यसबाहेक अन्य कलाकार, निर्माता, निर्देशक र समीक्षकले पनि मानसिक स्वास्थ्यलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै स्टाटस लेखिरहेका छन् ।
अभिनेत्री केकी अधिकारीले फिल्मको योजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेको उल्लेख गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्ने र यसबारे बेलैमा गम्भीर हुनुपर्नेतर्फ सचेत गराएकी छन् । ‘हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ ।
सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं,’ उनले लेखेकी छन् ।चलिचत्र समीक्षक एवं लेखक सामीप्य तिमल्सिनाले मेन्टल हेल्थ कन्सल्ट्यान्टको खाँचो देखिन थालेको बताएका छन् । चीन, कोरिया, जापानमा कलाकारको आत्महत्या दर बढेको भन्दै नेपालमा पनि यसको संकेत देखिएको उल्लेख गरेका छन् ।
‘सारुक ताम्राकारको यो कदमले हाम्रोमा पनि योसम्बन्धी बहस जरुरी भइसकेको संकेत गर्छ । नेपालको मनोरञ्जन उद्योग पनि प्रोफेसनल छैन । अर्कालाई शोषण गर्ने र अर्काको टाउकोमा टेकेर सफल भएको भ्रम छर्ने प्रतिस्पर्धा छ । फिल्म क्षेत्रमा कलाकारका लागि फ्लपको प्रेसर धेरै छ । यसमा हामी सञ्चारकर्मीले पनि हिट र फ्लपको आँकडालाई प्राथमिकताका साथ छापिदिँदा चलचित्रकर्मीमा दबाब बढेको छ । व्यक्तिगत रुपमा मलाई, हामीले यो शैलीमा पुनर्विचार गर्न जरुरी रहेको महसुस भएको छ । स्कुल, विश्वविद्यालय र समुदायिक संस्थामा ज्यादाभन्दा ज्यादा मेन्टल हेल्थ कन्सल्ट्यान्टको खाँचो देखिन थालेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले अब बाँच्ने कला सिकाउन आवश्यक रहेको भन्दै नयाँ बहस सिर्जना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी कलाकारहरुको हतियार भनेकै आवेग र संवेदना हो । यसैसँग रिलमा खेल्दै गर्दा कहिलेकाहीँ रियलमा पनि आफैलाई हतियारले काट्ने सम्भावना रहन्छ । यसर्थ रंगीन दुनियाँको रंगीन काल्पनिक संसारमा कसरी यथार्थमा बाच्ने भन्ने कला जान्नु अति आवश्यक हुन्छ ।
सपना र यथार्थको तालमेल नमिलेर नै यी र यस्ता मानसिक समस्याहरु निम्तिने गरेका हुन्छन् । मेरा आदरणीय साथीहरु तपाई पनि मानसिक रुपमा बिचलन र विक्षिप्त हुनु हुन्छ भने र मलाई विश्वास गरेर आफ्ना कुरा शेयर गर्न सहज लाग्छ भने म तपाईहरुको लागि सधै उपलब्ध छु । जुन कुनै माध्यमबाट सम्पर्क गर्नु होला । सकेको साथ सहयोग गर्ने वाचा गर्दछु । म आफै पनि यी र यस्ता समस्याबाट गुज्रेकाले तपाईको मर्म बुझ्न सक्छु ।













