१. हामी सबै मिलेर हर सनातनीलाई योगी बनाउँ, कर्मठ बनाउँ, प्रेमी बनाउँ र संकल्पको धनी बनाएर सनातन धर्मको रक्षाका लागि तत्पर पारौँ । कर्म नै त्या मार्ग हो जसले परमात्मा प्रसन्न हुन्छन् । कर्ममा प्रेम, विश्वास, भक्ति एउटा मार्ग हो । कर्म योग मार्ग हो । कर्मको सन्यास, वैराग्य, गृहस्थी एक मार्ग हो साधन हो । साधनलाई व्यक्ति भन्दा श्रेष्ठ नठान । व्यक्तिद्वारा नै यी सबै मार्गबाट लक्ष्य प्राप्त गर्न सकिन्छ । जो व्यक्ति कर्महीन छ उसलाई न संसार मिल्यो न भगवान । त्यसैले सबैलाई कर्मयागी बनाऊ । संसारलाई कर्मठ योगी चाहिएको छ ।
२. योग मनको कुरा हैन, योग त मनलाई सिद्धिले भरिपूर्ण गर्ने कुरा हो । जुन आठ प्रकारका सिद्धि छन् ती योगबाट प्राप्त हुन्छन् । योग कर्मयात्रा हो । योगका आठ अङ्ग–यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् । मानिसलाई तन–मनसँग मिलाउने योग एक पूर्ण यात्रा हो । जब तनसँग मिलाउँछ तनमय बनाउँछ तब पृथ्वी उसका अघि दर्पण बनेर उभिन्छिन् । यदि मनसँग मिलायो भने मनोमय बनाउँछ र सारा सूक्ष्म जगत भौतिक बनेर अगाडि प्रस्तुत हुन्छ ।
३. अष्टाङ्ग योगको माध्यमबाट तिमीलाई ब्रह्मसम्मको यात्रा गराउनेछु जो तिम्रो आफ्नै घर हो । जहाँबाट तिमी आयौ । जब पृथ्वीमय पछि म जलमयतर्फ लानेछु । यो शरीर पञ्चभूतको हो । यो बडो नाजुक छ धोखा दिन सक्छ यस बाहेक अर्काे साधन पनि छैन । यो दुर्लभ छ, बारम्बार मिल्दैन । त्यसैले यसको जतन गर । यो एक प्रयोगशाला पनि हो । यसमा सबै तत्व निहीत छ । यसका अनेक अङ्ग छन् । मस्तिष्क खण्ड, हृदय खण्ड र नाभी खण्ड यी तीन दुर्लभ प्रयोगशाला हुन् । (१) विश्वको सबै खोज मस्तिष्क रुपी प्रयोगशालाको देन हो । जीवन विज्ञान सञ्चालन यहीँबाट हुन्छ । (२) प्रेम र भक्तिको विज्ञान हृदय रुपी प्रयोगशालाको देन हो । यो व्यक्तिगत पनि र विश्वातीत पनि छ ।
यो बाह्य र अन्तर्जगतसँग पनि जोडिएको छ । (३) नाभी यस्तो केन्द्र हो जो सम्पूर्ण शरीर व्यवस्थाको मूल केन्द्र हो । यो सुमेरु पर्वत झैँ पूरा शरीरको केन्द्र हो । यी तिनका अतिरिक्त गुदा र योनी स्थलमा पनि केन्द्र छ— जो काम र मुक्तिको केन्द्र हो । भोग र योगको एउटै केन्द्र रहेको छ । एकातिर भोगद्वार बनेर सृजन गर्दछ भने अर्काेतर्फ दिशा परिवर्तन गरेर जीवनलाई मोक्षद्वारसँग जोड्दछ । यो पृथ्वीको पनि केन्द्र हो र ती महामाया भगवतीको स्थान पनि हो जसलाई कुण्डलिनी भन्दछन् । यो जीवन ऊर्जा रुपी धाराको कुण्ड हो । यो जलकुण्ड झैँ छ । हिमालयमा रहेको मार्कण्डेय कुण्ड मैले देखेको छु । मानौँ योनीमाथि कुण्डल मारेर सर्प बसेको छ । कुण्डलको बीचमा कुण्ड छ । यस कुण्डको दर्शन गर्नाले आफूभित्रको कुण्डलीनीको स्थिति स्वयम् स्वरुपको ज्ञान हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













