काठमाडौं । दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख १० हजार कामदार कोरिया लैजाने भएको छ। शुक्रबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले उक्त निर्णय गरेको हो ।
मजदुर अभावलाई कम गर्नका लागि यस वर्ष अघिल्ला वर्षहरुभन्दा झन्डै दोब्बर कामदार ल्याउन दक्षिण कोरियाले खोजेको छ । कोरियाले नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकिस्तान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ ।
कोरियाली सरकारले हरेक वर्ष मजदुर नीति निर्धारण समितिमार्फत कोरिया आउने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । बैठकमा सरकार, मजदुर र उद्योगीहरूको प्रतिनिधिहरु सहभागी हुन्छन् । सन् २०२२ मा ६६ हजार कामदार कोरिया आउन पाउने कोटा निर्धारण गरिएको थियो । निर्धारित कोटामध्ये नेपालबाट कति कामदार लैजाने भन्ने निर्णय अझै भइनसकेको जनाइएको छ ।













