काठमाडौं – नेपाली कथानक चलचित्र ‘महापुरुष’को निर्माण टिमले शनिबार देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । यसलाई निर्माण पक्षले ‘महादेउसी भैलो’ कार्यक्रमको नाम दिएको छ ।
चलचित्रको प्रचारका क्रममा रहेको निर्माण पक्षले शनिबार साँझ ५ बजे नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेले, रबिन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, हास्य कलाकार जितु नेपाल, सुमन कार्की, दीपकराज गिरी, दीपाश्री निरौलगायत कलाकार सहभागी हुनेछन् ।
इन्द्रेणी दोहोरी टिम पनि देउसी भैलो कार्यक्रममा सहभागी हुनेछ । कात्तिक ११ गते रिलिज हुने चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । उनीसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायत कलाकार छन् । चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।













