काठमाडौं । रुसमा भएको २४ घण्टे असफल विद्रोहका नाइके तथा वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिन बेलारुस पुगेका छन् । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले प्रिगोजिन आफ्नो देश आइपुगेको पुष्टि गरेका हुन् ।
मंगलबार सैन्य अधिकारीहरुलाई सम्बोधन गर्दै राष्ट्रपति लुकासेन्कोले आफूले गरेको मध्यस्थताकै कारण वाग्नरको विद्रोह समाप्त भएको जानकारी गराएका थिए । वाग्नर लडाकुलाई परास्त गर्न मस्कोले करिब १० हजार सैनिक एकत्रित पारेको र आवश्यक परे आफू पनि बेलारुसका सेना त्यहाँ पठाउन तयार रहेको खुलासासमेत लुकासेन्कोले गरेका छन् ।
लुकासेन्कोले वाग्नरका लडाकुहरुले पनि आफ्नो नेताको साथमा रहने इच्छा गरेमा उनीहरुलाई बेलारुसमा बस्न दिइने जनाएका छन् । तारबार लगाइएको सेनाको एउटा अखडा खाली रहेको र वाग्नर लडाकुले चाहे त्यहाँ आफ्नो अस्थायी शिविर राख्न सक्ने लुकासेन्कोले प्रस्ताव गरेका छन् । लुकासेन्कोको मध्यस्थतामा भएको सम्झौताअन्तर्गत प्रिगोजिनलाई सुरक्षाको प्रत्याभूति दिइएको थियो भने उनीविरुद्ध कुनै कारवाही नगरिने प्रतिबद्धता जनाइएको थियो ।
यसैबीच नेटो सदस्य तथा बेलारुससँग सीमा जोडिएका देशहरु पोल्याण्ड, लातभिया र लिथुआनियाले बेलारुसमा वाग्नरको आगमनले आफूहरुलाई समस्या हुन सक्ने चेतावनी दिएका छन् । लिथुआनियाका राष्ट्रपतिका एक सल्लाहकारले सीमा पारीबाट हुने घुसपैठ र विध्वंसमा भाग लिन सक्ने भएकाले वाग्नर लडाकुहरु खतरनाक भएको बताएका छन् ।
रुसले केही साताअघि मात्रै आफ्ना रणनीतिक परमाणु हतियारहरु बेलारुसमा पठाएको पृष्ठभूमिमा वाग्नर समूहको बेलारुसमा उपस्थिति साँच्चिकै चुनौतीपूर्ण हुन सक्ने विश्लेषण गरिएको छ । वाग्नर लडाकुलाई शरण दिने सम्बन्धमा बेलारुसमै पनि जनमत विभाजित रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् ।
बेलारुस रुसको निकटतम सहयोगी राष्ट्र हो भने युक्रेनविरुद्धको युद्धमा बेलारुसले रुसप्रति समर्थन जनाउँदै आएको छ ।













