काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ ।
हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो । भेटवार्तामा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् ।
त्यसअघि प्रधानमन्त्री दाहाल राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
तेस्रो दिन अर्थात् भोलि ९शुक्रबार० बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन् । दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।
इन्दोरमा शुक्रबार प्रधानमन्त्री दाहालको बास होटेल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।
भ्रमणको अन्तिम दिन शनिबार ९जेठ २० गते० प्रधानमन्त्री दाहालले विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गरी दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेछन् । त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन् ।
गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल पहिलो विदेश भ्रमणका क्रममा भारत गएका हुन् ।












