१. शिक्षकलाई जाँच्ने मुख्य साँचो भनेको उसमा रहेको धैर्य हो । बालबालिकाले नयाँ कुरा जान्न, खोज्न र स्पष्ट हुन चाहन्छन् भन्ने कुरा शिक्षकले बुझ्नु पर्दछ । कलिलो दिमागले बिस्तारै काम गर्छ भन्ने बुझेर तिनलाई क्रमिक रुपले होसपूर्वक सिकाउनुपर्दछ ।
२. उत्प्रेरणाले बालबालिकालाई सिर्जनशील र सकारात्मक बनाउँछ भने जबरजस्तीले मानवता विरुद्ध उभ्याउन सक्छ । त्यसैले बाध्यता, करकाप र दण्डलाई कहिल्यै अपनाउनु हुँदैन । यी त भयका बाबु आमा हुन्, विनाशका बिउ हुन् र सिर्जनाका शत्रु हुन् ।
३. शिक्षकले आफूलाई विशिष्ट अध्यापकका रुपमा होइन सहशिक्षार्थीका रुपमा राख्नुपर्छ कठोर प्रशासकका रुपमा होइन, विद्यार्थीको असल र भरपर्दाे साथीका रुपमा राख्नुपर्छ । वास्तविक शिक्षक त्यही हो जो विद्यार्थीसँगै पढ्छ, रमाउँछ र मनोरञ्जनको शैलीमा सिकाउँछ ।
४. जीवनको उपयोगमा ल्याइएको शिक्षा मात्र सार्थक र मूल्यवान भएकोले सिद्धान्त र व्यवहार सँगसँगै जानुपर्छ । शिक्षाले जीवनलाई सम्भव मात्र बनाउने होइन, आनन्ददायी पनि बनाउनुपर्छ । आनन्दले जीवनमा खुसी ल्याउँछ र खुसीले आशा जन्माउँछ । आशाले जीवनका विविध सम्भावनाहरुलाई सौभाग्यतिर लम्काउँछ र सजिलै सफलता दिलाउँछ ।
५. कुनै पनि विषयलाई एकैचोट नभई खण्ड खण्ड गरी सिकाउनुपर्छ । अलग अलग समय र स्वस्थ मानसिक स्थितिमा गरिने जानकारीको एकीकरणबाट ज्ञानको बुद्धि हुन्छ । त्यो नै दिगो र टिकाउ पनि हुन्छ ।
६. सिकाउने वा पढाउने काम सिद्धान्तबाट होइन, व्यवहार वा प्रयोगबाट हुनुपर्दछ । अर्थात् पहिले प्रयोग गर्नुपर्दछ । अनि मात्र सिद्धान्तको व्याख्या गर्नुपर्दछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट












