मेरो इच्छाले अशान्ति पारेको हो भन्ने सम्झने बित्तिकै यो गर्छु, यस्तो हुनुपर्छ, त्यहाँ जान्छु भन्ने ठाउँमा जे जस्तो होस् न जान्छु न आउँछु, सङ्ग्रह पनि गर्दिन र गर्न पनि चाहन्न भन्ने विचार आउँछ । काँडाले काँडा झिकेर दुइटै काँडा फ्याँकेर मुक्त भएकै आग्रह एवं संस्कारबाट आउने इच्छाको नाश गरी भाग्य एवं जे हुन्छ त्यो भन्ने द्वैत पनि जीवन प्रवाहमा बगाइदिएपछि अनन्त अमूल्य तत्व प्रकट हुन्छ ।
हिंसा, व्यभिचार, चोरी, निन्दा तथा परिग्रहले हरसमय भय, व्याकुलता एवं भयङ्कर अशान्ति दिइरहन्छ । यसै प्रकारले ईश्वर समस्त धर्म, देश, भाषा र संस्कृतिले संस्कार, आग्रह लोभ, स्वार्थ तथा कल्पनाका रूपमा आन्तरिक चञ्चलता बनाइरहन्छ । जब मनले समस्त ईश्वरको प्रयोगद्वारा पञ्चविषको निवारण गरी मान्यताको स्वीकृत विषको पनि परित्याग गर्छ, तब मात्रै परमपद स्वतन्त्रता प्रकट हुन्छ । धन, यश, भोगले जीवन दिँदैन । केवल सजगता र ध्यानले जीवनका अमरता, नित्य नूतनता समयरहित आनन्द ल्याउँछ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













