पोखरा । पोखरा लेकसाइड निवासी पर्यटन व्यवसायी प्रभा सुवेदीलाई व्यवसायमा लाग्दा अनेकौ कानूनी अड्चन भोग्नु प¥यो । कानूनका बारेमा सामान्य ज्ञान पनि नहुँदा उहाँले जीवनमा अनेकौ अड्चन भोग्नु परेको छ । सुवेदी जस्तै पोखराका अधिकाशं महिला पर्यटन व्यवसायीले व्यवसायमा होस् वा अन्य क्षेत्रमा कानूनी समस्या भोगेका छन् ।
व्यवसायकै क्रममा आइपर्ने कानूनी समस्यालाई समाधान गर्न पोखराका ५९ जना महिला पर्यटन व्यवसायीले कानूनी तथा नेतृत्व विकास क्षमता सम्बन्धी चार दिने तालिम लिएका छन् ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) द्धारा आयोजित पर्यटन व्यवसायमा क्षमता अभिवृद्धि तथा कानूनी सचेतनात्मक कार्यक्रमको शुभारम्भ शुक्रबार नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक काशीराज भण्डारीले गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै भण्डारीले पर्यटन व्यवासय गर्दाको अवस्थामा, पर्यटन प्रवद्र्धन र आर्थिक लेनदेनमा पर्ने कानूनी समस्याका बारेमा सामान्य जानकारी राख्दा पनि ठूलो दुर्घटनाबाट बच्न सकिने बताउनुभयो । सरकारको पर्यटन नीतिका बारेमा पनि व्यवसायीले ज्ञान लिनुपर्नेमा भण्डारीको जोड थियो ।
चार दिने तालिममा प्रशिक्षकको रुपमा अधिवक्ता तारादेवी शर्मा, सुश्मा पौडेल, ईश्वरी पौडेल र जशु गुरुङ रहने उक्त संस्थाकी सचिव शोभा अधिकारीले बताउनुभयो ।
संस्थाका अध्यक्ष कमला गिरीले कानूनी परामर्शसँगै पर्यटन व्यवसायमा प्रतिभा प्रतिस्पर्धा कसरी गर्न सकिन्छ भन्ने पनि रहने बताउनुभयो । पर्यटन ऐनमा महिलाको अवस्था, पर्यटन नियमावली, पर्यटन नीति नियमका बारेमा पनि महिला पर्यटन व्यवसायीले ज्ञान लिने जानकारी अध्यक्ष गिरीले दिनुभयो ।
संस्थाका अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको उक्त तालिको उद्घाटन कार्यक्रममा कानून व्यवसायी तारा शर्मा, प्रभा सुवेदी लगायत महिला पर्यटन व्यवसायी आफ्ना भनई राखेका थिए ।












