त्याग, धैर्य, सजगता एक साथ छन् भने अभय स्थिति आउँछ । यहाँ स्वतन्त्रता छ । त्याग भएपछि प्रपञ्चबाट छुट्टी पाइन्छ र शान्तिको प्रवाह भेटिन्छ । धैर्यलाई अपनाएपछि जो छ, त्यसको साथमा बस्न सकिन्छ, जसबाट स्थिरताको अनुभव हुन्छ ।
सजगता राख्ने क्षमताको वृद्धिका साथ इच्छा, आशा, लोभ, मोह, तृष्णा, विक्षेप, अपेक्षा, निराशा, कुण्ठा, लालसा छैन र भवको प्रवाह कसरी आउँछन्, उठछन्, कार्य गर्छन्, त्यो जान्न र देख्न सकिन्छ । यो नेति नेतिको पद्धतिबाट सोऽहम्मा प्रवेश गर्ने सुगम र सानन्द पथ हो ।
विवेक र वैराग्यको आश्रयले त्याग हुन्छ ।
पलायनका सबै मार्ग व्यर्थ हुन्, पुराना या नयाँ धार्मिक अखवारका कुरा गफ हुन् भन्ने बोध भएपछि धैर्य आउँछ ।
प्राण, अहं, मन एवं बुद्धिका गतिविधिको अध्ययनका साथ अनावश्यक शारीरिक कर्मको विश्रामबाट सजगता आउँछ । एकान्तमा सबै बाहिर भित्र बिर्सेर, आत्मा या सत्गुरुका सान्निध्यमा रही श्वास प्रश्वासका साथमा स्मृति राख्नु सजगता हो ।
लौकिक व्यवहारले अदृश्यरूपमा विषमता राखेकै हुन्छ ।
राम, कृष्ण, पाण्डवहरूको कथानक चित्रणद्वारा हामी भव (संसार)को स्वभाव जान्न सक्छौं ।
अनुरागमा समता छैन, यसमा अन्यको सम्बन्ध हुनाले समता राख्न, धैर्य र सजगताको बढी आवश्यकता पर्छ ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट













