काठमाडौं नेपाली कांग्रेसकी नेतृ एवं सांसद आरजु राणा देउवाले दूषित मनसायले आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएकी छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूविरुद्ध दुस्प्रचार गरेको उल्लेख गरेकी छन्।
पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरी निराधार र कपोकल्पित आरोप लगाउँदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ। तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गाली गलौज र लाञ्छना लगाउने अधिकार छैन, उनले भनिन्।
उनले नियोजितरूपमा आफ्नो चरित्रहत्या गर्ने उद्देश्यका साथ सञ्चार माध्याममा अन्तर्वार्ता दिँदै गाली बेइज्जतीमा उत्रनु खेदजनक भएको उल्लेख गरेकी छन्। उनले तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडियामार्फत् सूचना र विचारहरू दिन सकिने तर नियोजितरूपमा कसैविरुद्ध व्यक्तिगत मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विवादलाई जोडेर कुण्ठा पोख्न नहुने बताइन्।
उनले हरेकजसो अन्तर्वार्तामा केही व्यक्तिहरू नियोजितरूपमै आफूविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन आरोपलाई स्थान नदिन पनि आग्रह गरेकी छन्।













