अल्फ्रेड स्मिथ अमेरिकाका प्रख्यात राजनेता थिए, जसले १९२८ मा राष्ट्रपतिको चुनाव लडे । उनी न्यूयोर्क राज्यको प्रतिनिधिसभाको लागि धेरैपटक चुनिए । साथै ४ पटक न्यूयोर्क राज्यको गभर्नर बन्न सफल भए । उनले महिला मताधिकार, नशाबन्दि, महिला पुरुष समानताको क्षेत्रमा महत्वपूर्ण योगदान दिए ।
अल स्मिथले अत्यन्त गाह्रो परिस्थिति सँग लड्दै सफलता प्राप्त गरेका थिए । उनको स्कुलको शिक्षा ज्यादै कम थियो । उनी अत्यन्त गरिबी बाट हुर्केका बढेका थिए । उनका बाबु उनी सानै छँदा परलोक भएका थिए । बाबुको मृत्यु हुँदा उनीसँग कात्रो किन्ने पैसा पनि थिएन । त्यसैले उनले साथीसँग चन्दमा मागेर बाबुको काजक्रिया खर्च जुटाएका थिए । बाबुको मृत्युपछि उनकी आमा छाता बनाउने कारखानामा प्रत्येक दिन दश घण्टाको दरले काम गर्न थालिन् । उनले थप पैसा कमाउनको लागि घर मै रातिसम्म सिलाई बुनाइको काम गर्थिन् ।
सानो तिनो नोकरी गरिसकेपछि २२ वर्षको उमेरमा उनी एक जना वकिलको फर्ममा कारिन्दाको रुपमा काम गर्न थाले । यसको ८ वर्षपछि उनी राजनीतिमा प्रवेश गरे र न्यूयोर्क विधानसभाको लागि चुनिए । तर चुनिसकेपछि उनलाई आफू यो जिम्मेवारी निभाउन अयोग्य भएको महसुस भयो । अल्प–शिक्षित भएको कारणले स्मिथलाई विद्येयक तथा कानूनहरु बुझ्न गाह्रो भयो । त्यसैले उनले अझै बढी पढ्ने निर्णय गरे ।
उनी प्रत्येक दिन १६ घण्टा काम गर्थे । यस्तो बानीकै कारणले उनलाई स्थानीय नेताबाट देशकै राजनेता बनाइदियो । कडा मेहनत गहन अध्ययनको कारणले उनी युगकै सबैभन्दा बुद्धिमान व्यक्तिमा गनिन थाले । नकारात्मक परिस्थितिलाई सकारात्मक परिस्थितिमा बदल्न उनले रातदिन कडा महेनत नगरेको भए पक्कै पनि यति धेरै सफल पक्कै पनि हुने थिएनन् ।
साभारः ‘सफलता’ पुस्तकबाट













