कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा घाँस काटिरहेकी महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई प्राविधिक टोलीले शनिबार ९आज० बिहान नियन्त्रणमा लिएको छ ।
बेलौरी नगरपालिका–८ पचुईँस्थित खप्टी नालामा महिलालाई लिएर गएपछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो । शुक्रबार बिहान ११ बजे पचुईमा घाँस काट्न गएकी सोही ठाउँकी गंगा चन्दलाई बाघले आक्रमण गरी लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।
घटनापछि शुक्रबार दिनभर स्थानीयले बाघलाई घेरा हालेका थिए । त्यसपछि सोही क्षेत्रमा देखिएको बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो । बर्दियाका बाघ विज्ञ डा। दिनेश देवकोटाको नेतृत्वमा तीन सदस्यीय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका आभास श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय टोलीले बाघलाई डार्ट गरेर लठ्याएर नियन्त्रणमा लिएको हो ।
आज बिहान डार्ट गरेर बाघ नियन्त्रणमा लिन सफल भएको बताउँदै सब वन डिभिजन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले भने, ‘यसको असर तीन घण्टासम्म रहन्छ, त्यतिञ्जेलसम्म लठ्ठिएको बाघलाई शुक्लाफाँटा छाड्ने तयारी छ ।’ उनका अनुसार अहिले बाघलाई पिँजडामा राखिएको छ । बाघ नियन्त्रणमा आएसँगै अब बेपत्ता महिलाको खोजी हुनेछ ।












