अलेक्जेण्डर आफ्ना सेना लिएर पर्सिया देशमा युद्धको लागि गइरहेका थिए, बाटोमा एकाएक विरामी परे । हेर्दाहेर्दै उनको हालत चिन्ताजनक भयो । अलेक्जेण्डरको साथमा कैयौँ व्यक्तित्व र वैद्यहरु थिए, तर सबैले अलेक्जेण्डर अब बाँच्दैनन् भन्ने सोचेर औषधी दिएनन्, किनकि यदि औषधी दिइसकेपछि उनी मरे भने मानिसहरुले जानीजानी वैद्यले उनको हत्या गरेको अभियोग लगाउनेछन् ।
त्यसैले संकट मोल्नको लागि कोही तयार थिएनन् । तर एक युनानी चिकित्सक फिलिपले अलेक्जेण्डरको दुःख देख्न सकेनन् । उनी अलेक्जेण्डरको विश्वासपात्र र शुभचिन्तक पनि थिए । आफ्नो वास्ता नगरी उनले अलेक्जेण्डरलाई भने, म औषधी तयार गरेर ल्याउँछु । यति भनेर उनी अर्काे कक्षमा गए ।
यस बीचमा अलेक्जेण्डरले आफ्ना एक उच्चाधिकारीबाट गुप्त सन्देश पाए, जसमा लेखिएको थियो, पर्सियाका बादशाहले तपाईंलाई औषधीको बहानामा विष दिएर मार्ने षडयन्त्र रचेका छन् । र यो कामको लागि उनीहरुले फिलिपलाई आधा राज्य र आफ्नी राजकुमारी दिने वचन दिएका छन् । सन्देश पढेर अलेक्जेण्डरले सिरानीमुनि राखे ।
केही क्षणपछि फिलिप औषधी लिएर आइपुगे । अलेक्जेण्डरले कुनै शंका नगरी एक हातले प्याला उठाएर मुखमा लगाए र अर्काे हातले सन्देश निकालेर फिलिपलाई दिए । पत्र पढेर फिलिपले मधुर स्वरमा बोले, महाराज मैले त आफ्नो तर्फबाट तपाईंलाई राम्रो औषधी दिएको छु, हेर्दै जाउँ अब के हुन्छ ?
औषधीले साँच्चै प्रभाव देखायो । केही क्षणमा अलेक्जेण्डको हालतमा सुधार आयो । ठीक भएपछि उसले फिलिपलाई अँगालो हालेर भने, मेरा प्राणदाता, चिन्ता नगर । केही लागेको भए त्यो पत्र पढेर तिमीले ल्याएको औषधी पिउने थिइनँ । मैले विश्वास गरेँ र त्यसको फल राम्रो पाएँ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट












