पोखरा, २१ चैत । पोखरा–२५ हेम्जास्थित देवीथान निवासी चन्द्रकान्त त्रिपाठी लामो समयदेखि व्यवसायिक तरकारी उत्पादनमा व्यस्त हुनुहुन्छ । परिवारका सम्पूर्ण सदस्यले पनि उहाँको कामलाई सघाउछन् । रोजगारीका लागि विदेश पस्नुभएका चन्द्रकान्त केही वर्षको विदेश बसाईपछि पून घरमा नै फर्केर व्यवसायिक तरकारी उत्पादनमा लाग्नुभयो । विदेश जानु अगाडि पनि उहाँको पेशा कृषि नै थियो ।
उहाँले अहिले पाँच रोपनीमा लगाएको तरकारी बिक्रीबाट वार्षिक ६ लाख रुपैयाँ मूनाफा गर्नुहुन्छ । ‘विदेशमा कमाउने पैसा नेपालमा नै बसेर कमाउन सकिन्छ थोरै मेहेनत गर्नुपर्यो, उहाँले भन्नभयो– विदेशमा पुगेर कमाउने पनि वार्षिक छ सात लाख नै हो ।’ ‘परिवारका सदस्यसँगै बसेर खुसीसाथ कमाएको पैसाको महत्व नै छुट्टै हुन्छ, त्रिपाठीले भन्नुभयो– आफ्नो जमीन थोरै छ, चार रोपनी जमीन भाडामा लिएर व्यवसायिक तरकारी उत्पादन गरेको छु, चार रोपनी क्षेत्रफलमा लगाएको काउलीबाट मात्र चार लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ, काउली खेतीलाई त्यति धेरै मेहेनत गर्न पनि पर्दैन। ’
बारीमा उत्पादित तरकारी त्रिपाठीले आफै पोखरा–९ स्थित शान्तिवन बाटिकाको तरकारी बजार स्टलमा लगेर बिक्री गर्नुहुन्छ । आफैले लगेर बिक्री गर्दा उत्पादित तरकारीले मूल्य पाउने भनाई उहाँको छ । ‘हेम्जाबाट सस्तोमा तरकारी खरिद गरेर पोखरा लगेर बिक्री गर्ने ठेकेदारहरु पनि प्रसस्तै छन् तर उनीहरुले किसानबाट थोरै मूल्यमा खरिद गरी बजारमा लगेर उपभोक्तासँग चर्को मुल्य लिने गर्छन् ।’ त्रिपाठीले भन्नुभयो– उनीहरुले किसानसँग बजारको मूल्यभन्दा पचास प्रतिशत कममा तरकारी खरिद गरेर लाने भएकाले किसानको उत्पादनले मूल्य पाउँदैन त्यसैले म आफै लान्छु ।
चन्द्रकान्त त्रिपाठी मात्र हैन उहाँका भाइ कृष्णलाल त्रिपाठी पनि तरकारी उत्पादनमा नै लाग्नु भएको छ । उहाँले हेमजामा तीन रोपनी जमीनमा तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी उत्पादनबाट प्राप्त आम्दानीले घर खर्च चलेको कुरा उहाँले सुनाउनुभयो । वार्षिक तीन चार लाख रुपैयाँ मुनाफा हुन्छ, त्यही पैसाले घरखर्च चल्ने गरेको कुरा कृषक कृष्णलाल त्रिपाठीले बताउनुभयो । तरकारीको गुणस्तर बीउ, रासायनिक मलको अभाव कृषकले बेलाबेलामा भोग्नु परेको गुनासो त्रिपाठीको छ ।
हेम्जा पोखराकै उर्भर भूमि भएकाले यहाँ थोरै जमीनबाट वढी उत्पादन गर्न सकिन्छ । हेम्जालाई पोखरामा आलु गाउँको रुपमा चिनिने गरिन्छ । यही चैतको २५ देखि वैशाख ४ गतेसम्म हेम्जामा ११ औं संस्करणको आलु महोत्सव समेत गर्न लागिएको छ । समुन्द्र सतहदेखि १०८९ मिटरको उचाईमा रहेको हेम्जामा वि.स. २०७८ को जनगणना आुसार ३५१७ घरधुरी रहेको हेम्जामा २२५३२ जनसंख्या रहेको छ । हेम्जामा ५९० हेक्टर जमीनमा तरकारी उत्पादन गरिँदै आएको जानकारी पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कँडरियाले जानकारी दिनुभयो ।
हेम्जामा १०२२ परिवार कृषिमा आधारित रहेको ५४० कृषक व्यवसायिक कृषि उत्पादनमा लागेको जानकारी प्रमुख कँडरियाले दिनुभयो । हेम्जामा उत्पादन हुने कृषि उत्पादनमा आलु, काउली, गोलभेंडा, च्याउ, बन्दा, करेला, काक्रो, घिरौला, फर्सी, सिमी, मूला, लौका, धान लगायतका छन् ।
हेम्जाबाट वार्षिक १५ करोड रुपैयाँको आलुमात्र बिक्री हुने गरेको छ भने अन्य तरकारी पनि त्यति मात्राको नै बिक्री हुने गरेको जानकारी प्रमुख कँडेरियाले दिनुभयो । हेम्जाका आलु पोखरा बजारमा सवादिष्ट मानिने र उपभोक्ताले खोजीखोजी आने गरेका छन्् । यहाँ जनकदेव, एमएस–४२ जातका आलु वढी मात्रामा लगाइने गरिन्छ ।
महोत्सव अवधिमा यहाँका किसानलाई तरकारी वालीमा विषदी प्रयोग न्यूनीकरण र बिषदी छर्ने प्रक्रियाका बारेमा जनचेतना र नाटकहरु समेत प्रस्तुत गरिने जानकारी प्रमुख कँडरियाले दिनुभयो । अधिकाशं किसानलाई अझैपनि तरकारीमा बिषदी प्रयोग विधिका बारेमा ज्ञान छैन, उहाँले भन्न्ुभयो ।
अर्का किसान चित्रनाथ पौडेलले आलु गाउँबाट परिचित हेम्जामा कृषिका थप गतिविधि अगाडि वढाउन आलु महोत्सव गर्न लागिएको र महोत्सवमा हेम्जामा उत्पादित आलुको ३० देखि ४० टनको पहाड बनाएर प्रदर्शन गरिने जानकारी दिनुभयो ।













