कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य। जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ। ढोरपाटन त्यही आकर्षक गन्तव्य हो। यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन्। पश्चिम नेपालमा धौलागिरि हिमशृङ्लाभित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार ५०० मिटर उचाइमा अवस्थित छ।
सिकार आरक्षको केन्द्र रहेको ढोरपाटन बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन पूर्वाधारका हिसाबले पछाडि छ। ढोरपाटन सिकार आरक्षको स्थापना विसं २०४० मा भए पनि विसं २०४४ मात्र सरकारी मान्यता प्राप्त गरेको थियो। त्यसयता विदेशीको आकर्षणको केन्द्र बनेको ढोरपाटन अहिलेसम्म पनि पूर्वाधारमा फड्को मार्न सकेको छैन। आठ किलोमिटर क्षेत्रमा फैलिएको हरियाली उपत्यका। बुकी क्षेत्रमा फुलेका सुन्दर फूलहरु। ढोरबराहको मुटुभित्रबाट निस्किएको कञ्चन झैँ बग्ने उत्तरगङ्गा नदी।
श्रीस्वस्थानी व्रत कथामा भने झैँ ढोरपाटनको सौन्दर्यताको बखान नगर्ने सायदै हुन्छन्। पर्यटन, सिकार र कृषिले परिचित नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत ढोरपाटन क्षेत्र विश्वमा परिचित गन्तव्य हो। केही पर्यटकीय गन्तव्य पूर्वाधारका कारण चर्चित छन् भने केही गन्तव्य सौन्दर्यताका लागि चर्चित छन्। तर बागलुङको ढोरपाटन साहसी पर्यटक र सौन्दर्यता अवलोकनका हिसाबले पनि चर्चित छ। ढोरपाटन सिकार पर्यटकका लागि चाखलाग्दो गन्तव्य हो।
भौगोलिक विकटता, सडक सकस र पर्यटकीय पूर्वाधारका कारण ढोरपाटन नेपालका अन्य गन्तव्यमा जस्तो यो क्षेत्र पर्यटकको व्यापक आकर्षक भने छैन। सिकार पर्यटनमा विदेशी पर्यटकहरुले मात्रै पहुँच पुर्याउने गरेका छन् भने आन्तरिक पर्यटक सुन्दर ढोरपाटन अवलोकनमा सीमितमात्रामा आउने गरेका छन्।
पछिल्लो समय पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ। ढोरपाटनको सौन्दर्यता र अपार सम्भावनालाई बाहिर ल्याउन आवश्यक रहेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बताए। यहाँको सम्भावनाको उजागर गर्नसके ढोरपाटन पर्यटनबाटै समृद्ध बन्न सक्दछु उनले भने, ढोरपाटन ठूलो परियोजना भएकाले नगर एक्लैले धेरै काम गर्न सक्दैन, सङ्घीय सरकारले सय गन्तव्यमा सूचीकृत भइसकेको क्षेत्रलाई प्राथमिकतामा राखिरहेको छैन, नगरपालिकाबाट मोटरबाटो स्तरोन्नति, घरबास प्रवद्र्धन अभियान तथा तथ्याङ्क सङ्कलनको काम भइरहेको छ।
नगर प्रमुख नेपालीले चालू आर्थिक वर्षमा मात्रै ढोरपाटन क्षेत्रको विकासका लागि रु एक करोड बजेट कार्यान्वयनको चरणमा रहेको बताए। नगरपालिकाले ढोरपाटन उपत्यकामा रहेको नौवटै वडाको समन्वयमा कृषि पर्यटनसँग जोडेर विकास गर्नका लागि डिपिआर बनाउने कार्यमा लागेको बताए। ढोरपाटन सिकार आरक्ष नेपालको एकमात्र यस सिकार आरक्ष पश्चिम नेपालमा धौलागिरि हिमशृङ्खलाभित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको छ।
बागलुङ बजारबाट एक दिनको यात्रामा पुग्न सकिने ढोरपाटन क्षेत्रमा बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्ग र बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ। सिकारका लागि प्रख्यात यस आरक्षमा पेशेवर शिकारीको अनुमतिपत्र प्राप्त सिकारीले नौ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ। आरक्षमा रहेका हिउँचितुवा, घोरल, हिमाली कालो भालु, मृग र लङ्गुरे बाँदरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ।
ढोरपाटन उपत्यकालाई पर्यटनप्रेमीले मिनी स्वीजरल्यान्डको उपनाम दिएका छन्। विशेषगरी हिमपात भएको समयमा स्वीजरल्यान्डको झल्को दिने गरेको पर्यटन व्यवसायीको भनाइ छ। स्वजरल्यान्डमा हिउँले भरिँदा देखिने दृश्य र ढोरपाटनमा हिमपात हुँदाको दृश्य एकै लाग्ने पर्यटन व्यवसायी महादेव शर्मा बताउँछन्।













