लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीलाई चेतावनी दिँदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन् । बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेका बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गरेका हुन् ।
सुनकको सरकारले यस हप्ताको अन्त्यमा अवैध अध्यागमनलाई कडाइ गर्ने कानुनलाई अगाडि बढाउने अपेक्षा गरिएको फक्स न्युजले उल्लेख गरेको छ ।
‘अवैध आप्रवासन बेलायती करदाताहरूका लागि उचित छैन । कानुनी रूपमा यहाँ आउनेहरूका लागि यो उचित छैन र अपराधी गिरोहहरूलाई उनीहरूको अनैतिक गतिविधि जारी राख्न दिनु उचित होइन । म अवैध आप्रवासीका डुंगाहरू रोक्ने मेरो वाचा पूरा गर्न कटिबद्ध छु’, उनले भने ।
बेलायतमा गैरकानुनी आप्रवासीलाई सीमा पार गरेपछि त्यहाँ शरण लिनका लागि दाबी गर्न अनुमति दिने कानुन छ । सामान्यतया आप्रवासीलाई उनीहरूको मुद्दा चलिरहेका बेलामा बस्न अनुमति दिइन्छ । तर, नयाँ कानुनले त्यस्ता आप्रवासीलाई शरण दाबी गर्नबाट रोक्ने बताइएको छ । लामो समयदेखि फ्रान्सबाट जोखिमपूर्ण बाटो भएर बेलायत पुग्ने शरणार्थीको संख्या बढ्दै गएको पाइएको छ ।













