एउटा सानो गाउँमा महात्मा आए तब पूरा गाउँ उनको दर्शन गर्नको लागि उर्लियो । सबै गाउँलेलाई जम्मा पारेर महात्माले सोधे, आजकाल तपाईंहरु सबै के रोपिरहनु भएको छ ? र के काटिरहनु भएको छ ?
एक भद्रले हात जोडेर भने, महाराज, तपाईं यति ठूला ज्ञानी हुनुहुन्छ, के तपाईंलाई थाहा छैन, जेठ महिनामा हाम्रो सुख्खा खेतमा कुनै फसल उब्जँदैन । यति वेला त हामी पूर्ण रुपमा फुर्सदमा हुन्छौँ । महात्माले भने — जब खेतमा बाली रोप्न र काट्नमा व्यस्त हुन्छौ तब तिमीसँग अरु कामको लागि समय हुँदैन ? भद्र, मिल्दैन भात खाने समय समेत मिल्दैन ।
महात्माले भने, अचेल जब तिमी पूर्णरुपमा फुर्सदमा छौ तब बसेर गफ हाँक्नमा नै व्यस्त छौ । तिमीहरुले चाह्यौ भने यो समयको उपयोग पनि केही रोप्ने र काट्ने काम गरेर गर्न सक्छौ । सबै गाउँलेले एक स्वरमा भने, उसो भए कृपा गरेर तपाईं बताइदिनुस् । हामी के रोप्ने र के काट्ने गर्नुपर्छ ?
महात्माले गम्भीर भएर भने, तपाईंहरु कर्म रोप्नुस् र बानी काट्नुस्, बानी रोप्नुस् र चरित्र काट्नुस् र भाग्य काट्नुस् तब जीवन सफल हुनेछ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट











