झापा। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ ।
सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन तथा ताजा सुन्तलाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।
पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला बगानमा लटरम्म फलेका सुन्तला पाकेर पहेँलपुर बनेका छन् । सुन्तलाको स्वाद लिन, बोटबाटै टिपेर खान तथा बगानमा तस्बिर खिच्न आन्तरिक र भारतीय पर्यटक यहाँ पुग्ने गरेका छन् ।
वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक करिब एक सय पर्यटक आउने गरेका छन् । वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक औसत ४५० देखि ६०० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । मौसम अनुकूल र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ ।
सुन्तला बिक्रीबाट मात्रै यहाँ वार्षिक तीन करोडदेखि चार करोडसम्म आम्दानी हुने गरेको छ । गाउँका एक सयभन्दा बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । रोगका कारण पुराना बोट मरेपछि नयाँ बगान विस्तार गर्ने क्रम पनि बढेको छ ।
यहाँ उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बोटबाटै बिक्री हुने गरेको छ । झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरका बजारमा यहाँको सुन्तला पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तलाका रूपमा यसको प्रचार गरी बिक्री गरिँदै आएको छ ।
इलाम, झापा, मोरङ र सुनसरीका पर्यटकसँगै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ ।
सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन् । खड्काका अनुसार बजारमा सुन्तलाको मूल्य प्रतिकिलो २१० देखि २२० सम्म रहेकामा बगानमै पुग्ने पर्यटकले प्रतिकिलो १३० मा ताजा सुन्तला किन्न पाउँछन् । पर्यटकसँगै व्यापारी पनि सिधै बगानमा पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट पर्यटकको आवागमन बढ्ने गरेको छ । झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत गरी ती दिनमा ३०० देखि ५०० पर्यटक सलकपुर पुग्ने गरेको खड्काले बताए ।
उनले पनि १० रोपनी जमिनमा सुन्तला बगान लगाएका छन् । यस वर्ष विगतका तुलनामा सुन्तला उत्पादन राम्रो भएको उनको भनाइ छ । बगानमा रमाउन आउने पर्यटकले सुन्तलाको स्वाद लिनुका साथै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकनसमेत गर्ने गरेका छन् ।
२००४ सालमा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले सलकपुरमा सुरु गरेको सुन्तला खेतीले अहिले व्यावसायिक रूप लिएको छ । सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपिएको भए पनि अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् ।
सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि पनि परिचित छन् । यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि समेत लगिने गरिएको छ ।




















