देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीमा थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि पक्राउ परेका दुई जनासहित त्यही आरोपमा नियन्त्रणमा लिइए थियो । अब पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–७, कान्छीबजारबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको नाम भने खुलाइएको छैन।
यसअघि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बजारबाट दुई जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत छन्। उनीहरूमाथि पनि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।
जिल्लाका विभिन्न स्थानमा देउसी–भैलोका क्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताप्रतिकूल हुने गतिविधि भएको सूचनापछि निगरानी बढाइएको प्रहरीले जनाएको छ।




















