नुवाकोट। जर्मनीले नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि आफ्नो सहयोग बढाएर १ करोड १० लाख युरो पुर्याउने घोषणा गरेको छ।

नेपाल भ्रमणका क्रममा जर्मनीकी संसदीय राज्यमन्त्री डा. बार्बेल कोफ्लर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले नुवाकोट पुगेर बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। उनीहरूले प्रभावित क्षेत्रमा भइरहेको मानवीय सहायता तथा राहतका प्रयासहरूको समेत अवलोकन गरेका छन्।

भ्रमणका क्रममा डा. कोफ्लरले बाढीबाट प्रभावित तथा विपद्का पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोग्नुपरेका समस्या, स्वास्थ्य सेवाको कठिन अवस्था र विपद्ले पारेको मानसिक तथा भावनात्मक असरबारे जानकारी लिएकी थिइन्।

जर्मनीले AWO International र UNICEF Nepal सँगको सहकार्यमा बाढी प्रभावित समुदायलाई सहयोग पुर्याउन थप कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।
त्यसैगरी, बिदुरमा डा. कोफ्लरले बिदुर नगरपालिकाका प्रमुख, स्थानीय अधिकारीहरू, अस्पतालका प्रतिनिधि तथा जनस्वास्थ्य क्षेत्रका सरोकारवालाहरूसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्तामा प्रभावित क्षेत्रको वर्तमान अवस्था, राहत वितरणमा देखिएका चुनौती, स्वास्थ्य सेवाको आवश्यकता तथा पुनर्निर्माणका विषयमा छलफल भएको थियो।

जर्मनीको थप आर्थिक सहयोगले बाढी प्रभावित समुदायको पुनःस्थापना, आधारभूत सेवाको सुधार तथा विपद्पछिको पुनर्निर्माण प्रक्रियालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस भ्रमणले नेपाल र जर्मनीबीचको मानवीय सहायता, विपद् व्यवस्थापन तथा पुनःस्थापनासम्बन्धी सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।




















