हेटौँडा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेशका शिक्षामन्त्री तथा प्रदेश विश्वविद्यालयका पदाधिकारीहरूको सम्मेलन सुरु भएको छ ।
शुक्रबारसम्म सञ्चालन हुने सम्मेलनमा शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा प्रदेशहरूबीच सहकार्य र समन्वय अभिवृद्धिका विषयमा छलफल हुने जनाइएको छ ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा सुरु भएको सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहित विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका पदाधिकारी, सरकारी अधिकारी तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।
सम्मेलनमा सातै प्रदेशमा शिक्षा क्षेत्रमा हासिल भएका उपलब्धि, अभ्यास र विद्यमान चुनौतीबारे अनुभव आदानप्रदान गरिनेछ । यसका साथै सङ्घ र प्रदेशबीचको समन्वय, प्रदेश विश्वविद्यालयको संस्थागत विकास तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका उपायबारे छलफल गरिने कार्यक्रम छ ।
दुई दिनसम्म चल्ने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन तथा उच्च शिक्षाको विकासका लागि साझा रणनीति र नीतिगत उपाय तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




















