काठमाडौं । नेपालका लागि अमेरिकी दूतावासकी चार्जे द’अफेयर्स, एआई मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्दै बाढीपछिको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका विषयमा छलफल गरेकी छन्।
बुधबार भएको भेटमा बोल्डिनले विपद्बाट प्रभावित नेपाली समुदायलाई निरन्तर सहयोग गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याउँदै बेपत्ता अमेरिकी नागरिकको खोजी कार्यलाई पनि निरन्तरता दिने बताइन्।
अमेरिकाले हालसम्म नेपालमा बाढी तथा विपद् प्रभावित क्षेत्रमा ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराइसकेको अमेरिकी दूतावासले जनाएको छ। उक्त सहयोगअन्तर्गत स्थायी पुल निर्माण, खानेपानी तथा सरसफाइ, आश्रय, जीविकोपार्जन, हिउँदसम्बन्धी सहायता तथा विपद् प्रतिकार्यका लागि आवश्यक उपकरणलगायतका क्षेत्रमा नयाँ सहयोगसमेत समावेश रहेको छ।
भेटवार्तामा बोल्डिनले नेपालमा सञ्चालनरत अमेरिकी कम्पनीका लागि व्यवसायिक वातावरण सुधार गर्न सरकारले गरिरहेका प्रयासप्रति अर्थमन्त्री वाग्लेलाई धन्यवाद दिइन्। साथै, नेपालमा अमेरिकी लगानी तथा व्यवसायका लागि वातावरणलाई थप सहज र प्रभावकारी बनाउने उपायबारे पनि छलफल भएको जनाइएको छ।
नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित समुदायको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा नेपाल र अमेरिकाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत भेटवार्तामा जोड दिइएको थियो।













