चितवन । राजधानीमा एलपी ग्यासको माग बढेपछि चितवनसहित आसपासका जिल्लामा रहेका ग्यास उद्योगले उत्पादन बढाएर भरिएका सिलिन्डर काठमाडौँ पठाउन थालेका छन् ।
चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका ग्यास उद्योगले काठमाडौँमा आपूर्ति सहज बनाउन दैनिक करिब १४ घण्टा बोटलिङ सञ्चालन गरिरहेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार चितवनका बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासीको जानकी तथा धनुषाको नेपाल ग्यास र नारायणीले दैनिक दुई सिफ्टमा करिब १५ हजार सिलिन्डर बोटलिङ गरिरहेका छन् ।
उनका अनुसार ती उद्योगमा रहेका २४ वटा बोटलिङ उपकरणबाट प्रतिमिनेट २४ वटासम्म सिलिन्डर भर्ने गरिएको छ ।
त्यस्तै, धनुषाको नोबेल, बाराका वान (एनएल), जगदम्बा, लियो र अम्बर ग्यास, पर्साका सुप्पर र मनोज, मकवानपुरको साहरा तथा नवलपरासीको चन्डेश्वरी ग्यासले समेत सिलिन्डर भरेर काठमाडौँ उपत्यकामा पठाइरहेका छन् ।
यी उद्योगहरूले दैनिक करिब १० हजार सिलिन्डर भर्ने गरेका छन् । उत्पादित सिलिन्डरमध्ये आधा स्थानीय बजारमा आपूर्ति गरी बाँकी काठमाडौँ पठाउने गरिएको छ ।
कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमार्फत ग्यास ल्याउने, बोटलिङ गर्ने र बजारमा पठाउनेसम्मका काममा उद्योगीहरू सक्रिय रहेको बताए ।
सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डरको माग हुने गरेकामा अहिले माग बढेर करिब एक लाख पुगेको उनले जानकारी दिए । बुधबार मात्रै ५३ हजार ४६९ सिलिन्डर काठमाडौँ पठाइएको थियो । दैनिक पठाइने सिलिन्डरको संख्या भने माग र ढुवानी अवस्थाअनुसार तलमाथि हुने गरेको छ ।
चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौँ पठाइँदै छन् । साँघुरो सडक, अत्यधिक सवारी चाप तथा ठाउँ–ठाउँमा खस्ने पहिरोका कारण ढुवानीमा भने समस्या भइरहेको व्यवसायीहरूले बताएका छन् ।













