ललितपुर । रसुवा–भोटेकोशी विपद्बाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले प्रशिक्षित जनशक्ति तयार गरेको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा विभिन्न क्षेत्रका ४६ जना सहभागी भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
प्रशिक्षणपछि सहभागीहरूलाई विपद्बाट विस्थापित परिवार रहेका आश्रयस्थल तथा प्रभावित क्षेत्रमा परिचालन गरी नागरिकलाई आवश्यक मनोसामाजिक परामर्श उपलब्ध गराइने दुलालले बताए ।
प्रशिक्षणका क्रममा बाढी तथा विपद्बाट प्रभावित नागरिकले भोगिरहेका मानसिक तनाव र मनोसामाजिक समस्याका विषयमा छलफल गरिएको थियो । सहभागीहरूले प्राकृतिक विपत्तिका कारण बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक मानसिक रूपमा बढी प्रभावित हुने भएकाले उनीहरूलाई विशेष मनोसामाजिक सहयोग आवश्यक रहेको बताएका थिए ।
प्रशिक्षणमा डा. प्रभाकर पोखरेल, डा. रविन बस्नेत तथा मनोविद्हरू कपिल शर्मा, गृष्मा पनेरु र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए ।
कांग्रेसले विपद्पीडित नागरिकलाई तत्काल राहतसँगै मानसिक तथा मनोसामाजिक सहयोगसमेत आवश्यक रहेको भन्दै प्रशिक्षित जनशक्तिलाई प्रभावित क्षेत्र र आश्रयस्थलमा परिचालन गर्ने यसअघि नै जनाएको थियो।













