सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ।
यही भदौ २० गते मनाइने दिवसका लागि ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
प्रविधिको बढ्दो प्रयोगसँगै मानव बेचबिखन तथा ओसारपसारका तरिका पनि बदलिँदै गएकाले प्रविधिको सुरक्षित प्रयोग र सजगतालाई प्राथमिकता दिँदै यस वर्षको नारा तय गरिएको हो।
विशेषगरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी र वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी तथा शोषणबाट नागरिकलाई जोगाउन ‘डिजिटल’ माध्यमको सुरक्षित र जिम्मेवार प्रयोगबारे जनचेतना बढाउने उद्देश्य नाराले बोकेको छ।
मन्त्रालयका अनुसार सो दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण तथा रोकथाम, पीडितको संरक्षण र पुनःस्थापना तथा सम्बन्धित निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ।
मानव बेचबिखन नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सबैको सहकार्य र ऐक्यबद्धतामा जोड दिइएको मन्त्रालयले जनाएको छ।













