काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकले नियामक संस्थाको परम्परागत भूमिकामा मात्रै सीमित नभई मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारका रूपमा काम गर्नुपर्ने बताएका छन्।
बुधबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले आर्थिक सुधारलाई प्रभावकारी बनाउन सरकार र राष्ट्र बैंकबीच नीतिगत समन्वय थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले छलफलमा उठेका विषयलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे संयुक्त कार्यदल गठन गरी निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाइने बताए। सुधारका लागि राजनीतिक इच्छाशक्ति, आर्थिक स्थायित्व र निजी क्षेत्रको तयारीलाई उपयोग गर्दै राज्यका सबै निकाय एउटै लक्ष्य र गतिका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले सरकारले अघि सारेका आर्थिक सुधारलाई सफल बनाउन राष्ट्र बैंकले आवश्यक नीतिगत सुझाव दिनुपर्ने उल्लेख गर्दै उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने उपाय खोज्न आग्रह गरे। बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारी सिर्जनामा परिचालन गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
अर्थमन्त्री वाग्लेले पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध निर्माण गर्नुपर्ने बताए। साथै मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वय सुदृढ गर्दै डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण तथा वैकल्पिक वित्तीय उपकरणलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखे।
उनले नियमनको उद्देश्य नियन्त्रणमा सीमित नभई उत्पादनशील आर्थिक गतिविधिलाई सहज बनाउनु हुनुपर्ने उल्लेख गर्दै नवप्रवर्तनलाई रोक्ने होइन, प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले सरकार र नेपाल राष्ट्र बैंक दुवैले आत्मविश्वासका साथ सुधारका कार्यक्रम अघि बढाए बैंकिङ क्षेत्र र निजी क्षेत्रको मनोबल पनि बढ्ने तथा त्यसले आर्थिक वृद्धिलाई गति दिने विश्वास व्यक्त गरे।
उनले सरकारले कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेको उल्लेख गर्दै अब मौद्रिक नीतितर्फबाट पनि समान प्रतिबद्धता, स्पष्टता र गतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।













