काठमाडौं। नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ।
जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको पाँच किलोमिटर दौडमा कांग्रेस सभापति गगनकुमार थापालगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
कांग्रेसका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माका अनुसार ‘जलवायु जनचेतना जगाऔँ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो।
दौडपछि जावलाखेल चोकस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ विषयमा विज्ञहरूसहित समूहगत छलफल आयोजना गरिनेछ। सोही अवसरमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरू वरिष्ठ चित्रकारहरूबाट प्रत्यक्ष रूपमा तयार गरिने कार्यक्रम पनि रहेको छ।
कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी तथा नयाँ अभियान घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा आयोजना गर्ने जनाएको छ।
पार्टीले ‘ग्रिन रन’मा सहभागीको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट योगदान गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका ज्येष्ठ नागरिक र बालबालिकाको हितमा सहयोग गरिने कांग्रेसले जनाएको छ।













