नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसदबाट दिनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।
कांग्रेसको जरा अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले देशको अखण्डतालाई कमजोर बनाएको भन्दै संसदबाटै माफी माग्न आग्रह गरे ।
उनले भने, “प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई लज्जित गराउने अनैतिक र अराजनीतिक कदमको कांग्रेसले विरोध गर्छ। संसदको रोस्ट्रममा मैले नजानेर गल्ती बोले भनेर माफी माग्नुस्, त्यसमा कांग्रेसले कुनै अवरोध गर्ने छैन।”
प्रधानमन्त्रीले नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए झनै खतरनाक हुने उनको भनाइ छ । संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही पनि नभएको सभापति थापाको धारणा छ ।
थापाले संसद सञ्चालनसम्बन्धी नियमावली जबर्जस्ती पारित गरिएको भन्दै त्यसलाई “कालो दिन” को संज्ञा दिए । उनले संसदको शक्तिको दुरुपयोग भएको दाबी गर्दै कांग्रेसले त्यसको विरोध गरिरहेको बताए ।
उनले कांग्रेस नयाँ ट्रयाकमा गइसकेको उल्लेख गर्दै पार्टीलाई जनताले देखेको कमजोरी हटाएर विश्वास पुनः जित्नुपर्ने आवश्यकता रहेको समेत बताए ।













