काठमाडौं–काठमाडौं उपत्यकाभित्र डेङ्गीको निःशुल्क परीक्षण गरिने भएको छ । डेङ्गी संक्रमितको सङ्ख्या उच्च हुँदै गएपछि काठमाडौं उपत्यकाका स्थानीय तहहरूले निःशुल्क परीक्षण सेवा दिन थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले डेङ्गी निःशुल्क परीक्षण सुरु गरेका हुन् ।
उपत्यकाका जिल्लाहरूका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क आरडीटी (र्यापीड डाइग्नोष्टिक टेष्ट) परीक्षणको व्यवस्था गरिएको छ भने स्थानीय तहहरूले पनि वडा स्तरमा निःशुल्क परीक्षण गरिरहेका छन् ।
ललितपुर महानगरपालिकाले सबै वडाबाट निःशुल्क एन्टिजेन तथा तीन सय रुपैयाँभन्दा कम शुल्कमा सीबीसी (कम्प्लिट ब्लड काउन्ट) परीक्षण गर्ने व्यवस्था गरेको छ । यस्तै काठमाडौं महानगरको वडा नं. ८, १९, २६ र ३० मा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट पनि निःशुल्क परीक्षणको व्यवस्था गरिएको महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले बताए ।
काठमाडौं महानगरले बिहीबारदेखि २४ सै घण्टा परामर्श दिनेगरी हटलाइन सेवाको समेत व्यवस्था गरेको छ । ११८० नम्बरमा फोन गरी डेङ्गीसम्बन्धी परामर्श तथा परीक्षणबारे जानकारी लिन सकिने महानगरले जनाएको छ । रातको समयमा महानगरका दुईजना स्वास्थ्यकर्मीबाट डेङ्गीबारे विभिन्न परामर्श दिइने त्रिपाठीले जानकारी दिए । साथै १०२ नम्बरमा कल गरी महानगरको समन्वयमा निःशुल्क एम्बुलेन्स सेवा समेत लिन सकिनेछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै डेङ्गी संक्रमितको संख्या सात हजार ६३२ र देशभर १३ हजार ७ पुगेको छ भने संक्रमित १३ जनाको मृत्यु भएको छ । डेङ्गी संक्रमणबाट बच्ने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र घर वरिपरिको पानी जम्ने वातावरण नबनाउन विज्ञहरुको आग्रह छ ।













