काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्राप्त समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त यो प्रतिनिधित्वलाई “रगतले लेखिएको कथा” भन्दै यसको ऐतिहासिक महत्व औँल्याए ।
प्रचण्डले संसदमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा अन्य उपेक्षित समुदायको प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको बताए ।
उनका अनुसार, “परिणामका दृष्टिले सानो–ठूलो जे भए पनि यो संसदमा विभिन्न समुदायको इन्द्रधनुषी प्रतिनिधित्व पार्टीको विजयभन्दा ठूलो उपलब्धि हो,” भन्दै उनले समावेशी लोकतन्त्रको महत्व जोड दिए ।
उनले विगतको संघर्ष र क्रान्तिको स्मरण गर्दै भने, “यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ, क्रान्तिले लेखिएको छ।”
प्रचण्डले सामन्तवादविरुद्धको संघर्षकै कारण उत्पीडित समुदायका प्रतिनिधिहरू आज संसद र मन्त्री पदसम्म पुग्न सकेको उल्लेख गर्दै समावेशी उपलब्धिप्रति गर्व व्यक्त गरे ।













