अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारी साधन आवागमन रोकेर स्तरोन्नति गरिने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र बनाउन आइतबारदेखि रातको समयमा ३० चैतसम्म सडक बन्द गराउन लागेको हो ।
यसअघि ७ चैतदेखि २० गतेसम्म रातको समयमा सवारी आवागमन रोकेर स्तरोन्नति गरिएको थियो । दुई हप्ता रातको समयमा २.५ किलोमिटर पक्की बनाउने भनिएकामा समय अपुग भएपछि पुनः १० दिन थपेर रातको समय (साँझ ६ देखि बिहान ५ बजेसम्म) उक्त कार्यलाई निरन्तरता दिइने कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।
उनका अनुसार उक्त अवधिभर टिपरलगायत मालबहाक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको छ । चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैत महिनामा २.५ किमी र आउँदो वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको थियो ।
हाल उक्त सडकखण्डमा एकतर्फी सबबेश र बेश हालिएको छ । थपेको समयमा ‘सीटीभी’ हाल्दै पक्की बनाइँदै लगिने योगेशले जानकारी दिए । वर्षाका कारण गत दुई हप्तामा लक्ष्यअनुसारको काम गर्न नसकिएको उनको भनाइ छ ।
लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सीएनएवान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो ।
हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेको जनाइएको छ । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्डको सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ ।
यसैबीच, निर्माणकार्यमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।
जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माणसँगको ठेक्का रद्द गरेको हो ।
उसले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का लिएको थियो । उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।













