काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने तयारी भइरहेको भन्दै त्यसलाई पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक कारबाहीविरुद्ध उठेको आन्दोलन कमजोर पार्ने राजनीतिक षड्यन्त्रको संज्ञा दिएका छन् ।
बस्नेतले आइतरबा राती आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्टाटस सार्वजनिक अभिव्यक्तिमार्फत आफ्नो गिरफ्तारीको चर्चा सुनियोजित रूपमा फैलाइएको दाबी गरेका हुन् । उनका अनुसार तीन वर्षअघि नै एक ‘फर्जी व्यक्ति’लाई अगाडि सारेर आफूविरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो, जुन प्रहरी अनुसन्धानबाट आधारहीन सावित भइसकेको छ ।
उनले सोही प्रकरणमा उच्च अदालत पाटनमा दायर गरिएको रिटसमेत अदालतले खारेज गरिसकेको उल्लेख गर्दै अहिले पुनः पूरक जाहेरीमार्फत मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बताएका छन् । यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नयाँ जाहेरी दिन लगाई पक्राउको वातावरण बनाउन खोजिएको उनको आरोप छ ।
बस्नेतले यसलाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार र गृहमन्त्री सुदन गुरुङद्वारा सञ्चालित ‘अधिनायकवादी शैली’ को कदम भन्दै कडा आलोचना गरेका छन् । उनले यस्तो गतिविधिको राजनीतिक प्रतिफल सम्बन्धित पक्षले भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
यसैबीच, आफ्नो फोन बन्द रहेको र आफू फरार भएको भन्ने प्रचारलाई बस्नेतले पूर्णतः भ्रामक र असत्य बताएका छन् । यस्ता हल्ला फैलाएर जनमत प्रभावित पार्ने र आफूलाई ‘मिडिया ट्रायल’ मा लैजान खोजिएको उनको दाबी छ ।
उनले पार्टी अध्यक्ष ओलीविरुद्ध भइरहेको कारबाहीको विरोधमा देशभर उठिरहेको आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले आफूलाई लक्षित गरिएको जिकिर गर्दै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका छन् ।













