काठमाडौँ — चीनको नान्जिङमा आयोजना हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपालबाट १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा लिटिल बड स्कुलका पाँच र गोंगबु तेक्वान्दो डोजाङका आठ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।
लिटिल बड स्कुलबाट यु–६ महिला एकल पुम्सेमा इनाया महर्जन, यु–८ एकल पुम्से पुरुषतर्फ अभेन थापा र महिलातर्फ आरभी ज्ञवाली, तथा यु–१० एकल पुम्से पुरुषतर्फ आयाम पौडेल र महिलातर्फ यात्ना तिमिल्सिनाले प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, गोंगबु तेक्वान्दो डोजाङबाट पुरुष २६ केजी तौल समूहमा सोहन पाठक, महिला ३० केजीमा हृदियानी बस्नेत र महिला ३६ केजीमा जोलिना बस्नेतले खेल्नेछन्। पुम्से विधातर्फ यु–८ महिला एकलमा माइरा कार्की, यु–१२ पुरुष एकलमा श्रेयान कार्की र सक्षम श्रेष्ठ, यु–१४ महिला एकलमा आश्रिया उपाध्याय तथा यु–१८ पुरुष एकल पुम्सेमा युजेन तामाङले सहभागिता जनाउनेछन्।
लिटिल बड स्कुल र गोंगबु तेक्वान्दो डोजाङ दुवैका मुख्य प्रशिक्षक सरोज तामाङ रहनुहुनेछ। उहाँसँगै प्रशिक्षक विकेश विडारी तथा अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न चीन जानेछन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो सङ्घका सदस्य कविराज नेगी लामा तथा काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले शनिबार आयोजित विशेष कार्यक्रममा औपचारिक रूपमा बिदाइ गर्नुभयो।
सो अवसरमा राखेप सदस्यमा नियुक्त भएकोमा घिसिङलाई गोंगबु तथा गोलढुंगा तेक्वान्दो डोजाङले सम्मानसमेत गरेका थिए। प्रतियोगिता डिसेम्बर ३१ देखि जनवरी ३ तारिखसम्म सञ्चालन हुनेछ। सहभागी टोली मङ्गलबार चीन प्रस्थान गर्नेछ।













