काठमाडौँ । मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरवारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठुलो क्षति पुगेको छ । विश्वविद्यालयहरूले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ ।
यही भदौ २३ र २४ गते भएको जेन जेड समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधि तथा जारी गरिएका कर्फ्युका एकाएक बन्द हुन पुगेका विद्यालयहरू आजदेखि क्रमशः खुल्न थालेका छन् ।
शिक्षा क्षेत्रमा नीतिगत नेतृत्व गर्दै शिक्षा मन्त्रालयले तत्कालका लागि केशर महलबाट अत्यावश्यक काम कारवाही सञ्चालनमा ल्याइने तयारी गरेको छ । सिंहदरवारस्थित शिक्षा मन्त्रालयको भवनमा आगलागी र तोडफोडबाट भएको क्षतिको प्रारम्भिक आँकलन गर्न आन्तरिकरुपमा कार्यदल बनाइएको छ । मन्त्रालयमा सरसफाइ एवं अन्य व्यवस्थापकीय कामहरू भइरहेको छ ।
मन्त्रालयको परिसरमा जलाइएका विभिन्न सवारी साधन भने क्षतिको आकलन र सवारी धनीको पहिचानपछि मात्रै हटाउन मिल्ने भएकाले कार्यालय परिसर अस्तव्यस्त हुन पुगेको छ ।
सोही मन्त्रालयको भुँइ तलामा रहेका राष्ट्रिय सतर्कता केन्द्रको कार्यालय पनि प्रभावित भएको छ । जेन जेड समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधिका कारण सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत मन्त्रालयहरू ध्वस्त भएका छन् । मुलुकको विषम परिस्थितिका कारण आगामी असोज २ गते मनाइने राष्ट्रिय शिक्षा दिवसलाई पनि कुन रूपमा मनाउने भन्ने अन्योल देखिएको छ ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले सिंहदरवारबाट तत्काल काम गर्न सकिने अवस्था नभएकाले नयाँ शिक्षामन्त्रीको आगमनसँगै केशरमहलबाट अत्यावश्यक कामहरू सञ्चालन गर्ने गरी तयारी भएको र सिंहदरबारमा काम गर्न मिल्ने अवस्था भएपछि पूर्ववत्रुपमा सिंहदरवारबाट काम सुरु गरिने जानकारी दिए।
शिक्षा मन्त्रालय र केशरमहलको लामो परिचय जोडिएको छ । विगतमा त्यहाँ रहेको मन्त्रालय सिंहदरबारमा सारिएको थियो भने त्यसपछि पनि मन्त्रालयको छात्रवृत्ति शाखा त्यहीबाट सञ्चालित थियो । हाल उक्त शाखा भक्तपुर सानोठिमी लगिएको छ । केशरमहलमा विसं २०२६ देखि केशर पुस्तकालय रहेको छ । विगतमा मन्त्रालय रहेको केशरमहलको भवन हाल पुनः निर्माण भइसकेको छ ।
मन्त्रालयका प्रवक्ता सापकोटाले आन्दोलन र कर्फ्युका कारण अवरुद्ध भएको विद्यालयहरूको पठनपाठन स्थानीय तहको समन्वयमा क्रमशः आजदेखि खोल्न थालिएको जानकारी दिए । देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गरी सञ्चालन गर्न मन्त्रालयले स्थानीय तह र विद्यालयहरूलाई आग्रह गरेको छ ।
काठमाडौँ महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको थियो । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले विद्यालयमा कुनै क्षति भए/नभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न पनि अनुरोध गरेको थियो ।
विद्यालयहरूले मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्य दृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न पनि स्थानीय तहहरूको आग्रह रहेको छ ।
खल्लो भयो राष्ट्रिय बाल दिवस
देशमा पछिल्ला दिनमा सिर्जित विषम परिस्थितिका कारण आजको राष्ट्रिय बाल दिवस, २०८२ खल्लो हुन पुगेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ नाराका साथ ६१औँ राष्ट्रिय बाल दिवस मनाउन अपिल गरे पनि दिवस निष्प्रभावी भएको छ ।
जेन जेडले सञ्चालन गरेको आन्दोलन र त्यसपछि भएको विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर पर्न गएको अवस्थामा उल्लासपूर्णरुपमा दिवस मनाउन सकिने अवस्था भएन । प्रदर्शनमा प्रहरीको दमनबाट भएको मानवीय क्षति, मानव अधिकारको उल्लङ्घन, सरकारी तथा निजी सम्पत्ति, उद्योग, सञ्चार गृह, सङ्घसंस्थाका कार्यालय, विद्यालयमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि हुनुका साथै विभिन्न हिंसा बलात्कार, ज्यान मार्ने, सहकारी ठगी र मानव बेचबिखनका कार्यमा संलग्न भई अपराधको सजाय भोगिरहेका १३ हजार व्यक्तिहरू जेलबाट बाहिर निस्कनु जस्ता घटनाबाट बाल अधिकारसँग सम्बन्धित निकाय र संस्थाहरू चिन्तित देखिएका छन् । ती संस्थाहरूले बालबालिकामा परेको मनोसामाजिक प्रभावबारे प्रारम्भिक अध्ययन पनि गर्न थालेका छन् ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले अहिलेको विषम परिस्थितिमा बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । “बालबालिका भविष्यका कर्णधार हुन्, जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित बाँच्ने, संरक्षण हुन पाउनुपर्ने उनीहरूको अधिकार हो । पछिल्ला विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोशाकमा नै स्वयंको संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनुले हामीलाई चिन्तित बनाएको छ”, अध्यक्ष पौडेलले भने ।
यस दुःखद अवस्थामा बाल दिवसका अवसरमा कुनै उत्सवका कार्यक्रम नराखिएको उनको भनाइ छ । यस दिनलाई हिंसा, द्वन्द्व, दुर्व्यवहार र विपद्मा परी ज्यान गुमाएका बालबालिकाको सम्झनामा आज सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा दीप प्रज्वलन कार्यक्रम राखेर स्मरण गर्ने उनले बताए ।
“वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिपय विद्यालय जलेका पनि छन्, बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेको छ । मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था भएकाले समस्यालाई समाधान गर्न हामीले सहजीकरण गर्नुपरेको छ”, उनले भने । अधिकारकर्मीहरूले बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत रक्षा गर्नुपर्ने दायित्व रहेकामा जोड दिएका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद्ले बाल अधिकार उलंघनका घटनाहरू र जोखिममा पर्न सक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल हेल्पलाइन सेवा १०९८ बाट सूचना संकलन गरी आवश्यक सहजीकरण गर्दै आएको छ ।













