काठमाडौं : म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ।
तामाखानी अन्वेषण गर्न खानी तथा भू-गर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन्। मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ।
तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिए।
ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो। प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलले बताए।
वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए।













