चितवन। चेपाङ समुदायले आज आफ्नो राष्ट्रिय पर्व न्वांगी (छोनाम) मनाउँदैछन् । हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाइने यो पर्व यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङलाई भेला गराएर मनाइँदैछ ।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा पालैपालो सामूहिक रूपमा यो पर्व मनाइँदै आएको छ । सहभागी हुन नसक्नेहरूले भने आ–आफ्नो घर र टोलमै पर्व मनाउने परम्परा छ ।
चेपाङ समुदायमा पितृलाई चढाई नगरी नयाँ फलफूल वा अन्न खान नहुने धार्मिक मान्यता छ । न्वांगी पर्वमा घैया धान, काउनो, पिँडालु लगायतका अन्नपात भूमि र पितृलाई चढाइन्छ । यस दिन पान्देले ढ्याङ्ग्रो बजाउँदै कुखुराको बलि दिने र परिवार, नातागोता भेला भई भोज, नाचगान गर्ने परम्परा रहिआएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङको संख्या ८४ हजार ३६४ छ, जसमा चितवनमा मात्र ३५ हजार ६३७ जना छन् । मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजार २६८ जना बसोबास गर्ने तथ्याङ्क छ ।
बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिंदै आएको छ भने गोरखाको गण्डकी गाउँपालिकाले पनि यस दिन बिदा दिने प्रथा सुरु गरेको छ ।
नेपाल चेपाङ संघको अगुवाइमा २०६३ सालदेखि न्वांगीलाई सामूहिक राष्ट्रिय पर्वका रूपमा मनाउने परम्परा सुरु भएको हो ।













