काठमाडौं – छिमेकी मुलुक चीनसँग नेपालको व्यापार ठूलो परिमाणमा नभए पनि व्यापार घाटा भने चरम रुपमा बढीरहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार, सन् २००८ देखि २०२१ सम्म चीनसँगको व्यापार घाटामा छ। अहिलेसम्म घाटा खर्बौं रुपैयाँ पुगिसकेको छ।
नेपालले सन् २०१४ मा करीब तीन अर्ब रुपैयाँको सामान चीन निर्यात गरेको तथ्याङ्कले देखाउँछ। सन् २०२१ मा आयात भने दुई खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ। पछिल्लो वर्ष ८० करोड रुपैयाँको मात्र निर्यात भएको छ।
चीनसँग नेपालको एक हजार ४१४ किलोमिटरको सीमामा ६ वटा नाका छन्। दुई देशबीच कोदारी–तातोपानी–नाल्याम, रसुवा–केरुङ, ओलाचुङगोला–रिवु, किमाथांका–रिवु, कोरला–लिजी र यारी नाका तोकिएका छन्। यी नाकाहरूमा स्थानीयले वस्तु विनिमय गर्ने चलन रहे पनि तातोपानी र रसुवा नाका प्रमुख व्यापारिक नाका हुन्।
नेपाल–चीन व्यापार चीनको नियन्त्रणमा रहने र वेलावेला नाकाहरू बन्द हुँदा खास गरी नेपाली पक्षलाई क्षति हुने गरेको जानकारहरु बताउँछन्।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार‚ चीनमा ३० वटा नेपाली उत्पादन निर्यात हुने गरेका छन्। जसमा धातुका मूर्ति, चिनी, चित्र, जडीबुटी, चिया, गलैंचा, पस्मिना मुख्य हुन्। नेपालले तिब्बतमा खाद्यान्न, चिनी‚ जुट तथा जुटबाट बनेका सामान, सुर्ती, सुकेको खुर्सानी, मैनबत्ती, साबुन र याक लगायतका वस्तु निर्यात गर्छ। त्यहाँबाट भने कच्चा ऊन, भेडा, नुन, याक लगायत आयात हुन्छ।
नेपालले चीनबाट टेक्सटायल, कच्चा तयारी पोशाक, औद्योगिक सामान, खानेकुरा, निर्माण सामग्री, विद्युतीय सामान, मशिनरी सामान, धातु र स्टीलका सामान, लुब्रिकेन्ट, केमिकल लगायत सामान आयात गर्छ।













