भारतको पञ्जाबमा एक महिनामा बाढीबाट १३ सय गाउँ डुबेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार १ अगष्टदेखि १ सेप्टेम्बरसम्म राज्यका कयौँ क्षेत्रमा भएको भीषण वर्षाले यी गाउँहरु डुबेका हुन्, जसमा साढे २ लाखभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन्। ३० जनाको मृत्यु भएको छ।
त्यहाँको राज्य सरकारले यो दशककै गम्भीर प्राकृतिक विपत्ति देखिएको बताएको छ । सतलुज, ब्यास र रावी नदीका तटीय क्षेत्र बाढीले अत्यधिक प्रभावित भएका छन्। बाढीले सबैभन्दा धेरै प्रभावित भएको अमृतसरमा ३५ हजार मानिस विस्थापित भएका छन् । स्थानीय प्रशासनले बाढीको बढ्दो खतरालाई मध्यनजर गर्दै आज चण्डीगढ लगायत विभिन्न सहरका विद्यालय बन्द गरेको छ।
यो क्षेत्र रावी नदीको बाढीबाट प्रभावित छ। अधिकारीहरुका अनुसार गत महिना यस क्षेत्रमा २५३.७ मिलिमिटरसम्म वर्षामापन भएको छ। यो पछिल्लो २५ वर्षयताको सबैभन्दा भीषण वर्षा हो।











