बेलायतमा अठारौँ शताब्दीलाई बौद्धिकताको स्वर्ण युग मानिन्छ । यस युगका साहित्यिक नेता थिए प्रख्यात आलोचक, निबन्धकार, पत्रकार, उपन्यासकार, कवि तथा लेखक डा. स्यामुयल जोनसन । उनले अँग्रेजी भाषाको शब्दकोष तयार पारेका थिए ।
उनका बाबु पुस्तक बेच्थे । स्याम्युअलसँग ज्यादै कम कपडा थियो । त्यसैले उनलाई आफ्नो मोटो शरीरमा सना साइजका कपडा लगाउन धेरै मुश्किल पथ्र्याे । बाल्यकालमा भएको बिरामीको कारण उनको अनुहार विकृत भएको थियो भने एउटा आँखा सदाको लागि गुमेको थियो ।
बाल्यकालदेखि नै जोनसनलाई पढ्न र लेख्नमा ठूलो रुचि थियो । उनी पुस्तकको ज्ञान स्पन्जले पानी सोसेजस्तै गरी सोसेर लिन्थे । १९ वर्षको उमेरमा उनी अक्सफोर्ड गए । त्यहाँ उनी धेरै कक्षाहरुमा जाँदैनथे, कारण– उनका जुत्ताहरु फाटेका थिए । एकपटक उनका साथीहरुले उनको ढोकामा नयाँ जुत्ता राखिदिए तर स्वाभिमानी जोनसनले यो स्विकार गरेनन् । आखिरमा पैसाको अभावका कारण उनी विना डिग्री अक्सफोर्डबाट फर्केर आए । अक्सफोर्डबाट फर्केपछि जोनसनले १७३६ मा एउटा स्कुल खोले तर त्यो स्कुलमा ३ जना मात्रै आए ।
सफलताको खोजीमा उनी लन्डनतिर लागे । त्यहाँ पत्रकारको रुपमा काम गरे । अर्कैको नामबाट पुस्तक लेखेर जसरी तसरी आफ्नो पेट पाल्थे । आफ्नो पत्रिका, लेख, कविता तथा समालोचनाको कारण उनी प्रतिष्ठित भएका थिए । प्रतिष्ठित मात्रै पेट भरिन्न । जोनसनले जीवनभर गरिबीसँग संघर्ष गरे र दमको रोगसँग पनि । ८ वर्षसम्म उनले अँग्रेजी शब्दकोष तयार गर्न दिनरात मेहनत गरे । यो शब्दकोषले जोनसनको भाग्य त बदल्यो नै, अँग्रेजी, भाषाको ढाँचालाई पनि बदलेर छाड्यो ।
साभारः ‘सफलता’ पुस्तकबाट













